काठमाडौं, ०१ फागुन ।। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेले कास्कीको पोखरा महानगरपालिका-८ स्थित श्रीराम प्राथमिक विद्यालयको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरी जागिर खाएको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए ।
शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भएको र छानविनको माग गर्दै शिक्षक शर्माविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा शिक्षक शर्माले माध्यमिक शैक्षिक परिषद्,उत्तर प्रदेश,बोर्ड अफ हाइस्कु्ल एण्ड इण्टरमिडियट एजुकेसन,युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धांक पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।
शिक्षक शर्माले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको हुँदा उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ (१) बमोजिम सजाय र मागदावी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको हो ।