काठमाडौं, २२ पुस ।। निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताएका छन्।शनिबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिए ।

अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ । उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ’, निर्देशक श्रेष्ठले भने, ‘मैले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँलाई अवसर दिएको छु । किनकि हामी पुराना चलचित्रकर्मीले आँट गरेनौं भने अरूले गर्दैनन्’

यद्यपि निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाए । ‘नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा संघर्ष गर्नुपर्ने हुन्छ । मेरो तीन दशकको चलचित्र यात्रामा नौलो अनुभव गरिरहेको छु’, निर्देशक श्रेष्ठले भने ।

उनले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गरे । नवकलाकार अभिनेता श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुनलागेको बताए ।

मैले मण्डला थिएटरमा झण्डै १३ बढी नाटक गरिसकें। सात वर्षपछि बल्ल चलचित्रमा अभिनयको सुरुआत गरेको छु’, अभिनेता श्रेष्ठले भने, म कलात्मक र व्यावसायिक दुवै चलचित्र गर्न चाहन्छु । परिपक्व समूहसँग काम गर्न पाउँदा आभारी छु । अभिनेत्री बुढाथोकीले पहिलो चलचित्र भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताइन् ।

‘मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिनँ। सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएँजस्तो लाग्छ । यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु’, उनले भनिन् ।

चलचित्रका निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा चलचित्रको छायाँकन गरिएको जानकारी दिए।कार्यक्रममा संगीतकार महेश खड्का, गायक प्रमोद खरेल, अभिनेत्री सुनिता श्रेष्ठ पनि उपस्थित थिए ।

चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईले पनि अभिनय गरेका छन्। चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here