काठमाडौँ, २६ जेठ ।। नेपाली फिल्मका खरो आलोचक हुन् नवीन सुब्बा । नाटकबाट भित्रिएका कलाकारले नेपाली फिल्मको अभिनय बिगारेको आरोपसमेत लगाउने उनी फिल्मका निर्देशक पनि हुन् ।

‘खांग्री’, ‘नुमाफुङ’ जस्ता फिल्म बनाएर नेपाली फिल्ममा मौलिक कथाको प्रवेश उनले नै गराएका हुन् । ‘नुमाफुङ’पछि ‘गुडबाई काठमाडौँ’ बनाएका उनको ‘गाउँ आएको बाटो’ चौथो फिल्म हो । ‘गुडबाई काठमाडौँ’ प्रदर्शनमा नआए पनि ‘गाउँ आएको बाटो’ भने शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ ।

टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङलगायत थुप्रै प्रसिद्ध महोत्सवमा सहभागिता जनाइसकेको छ ।

प्रस्तुत छ, यसै फिल्मका निर्देशक नवीनसँग गरिएको कुराकानीको सम्पादित अंश :

‘गुडबाई काठमाडौँ’ बनाएको ७ वर्षपछि ‘गाउँ आएको बाटो’ बन्यो । एउटा निर्देशकलाई नयाँ फिल्म बनाउन कति लाग्छ र ?
निर्देशकलाई एउटा फिल्म ल्याउन ३/४ वर्ष लाग्छ । त्यसमा मलाई अलि बढी समय लाग्छ । मेरो यसअघिको फिल्म ‘गुडबाई काठमाडौँ’ बनेको अहिले ७ वर्ष भयो । तर यो फिल्म हामीले २०२१ मा छायाङ्कन गरेका हौँ । एक वर्ष हामी विभिन्न फेस्टिभलमा घुम्यौँ । सुटिङपछिको समय हेर्ने हो भने तीन वर्ष भन्नुपर्छ ।

यो पनि
‘गाउँ आएको बाटो’मा भड्किएको गाउँको ‘आत्मा’
‘गाउँ आएको बाटो’मा भड्किएको गाउँको ‘आत्मा’

फिल्म रिलिज हुँदै गर्दा प्रचार प्रसार कस्तो छ ?
राम्रो भइरहेको छ । हामीले जानेको, बुझेको सबै गरेका छौँ ।

पहिले र अहिलेमा प्रचारमा भिन्नता देख्नुभयो कि ?
धेरै भिन्नता छ । पहिले पत्रपत्रिका, रेडियो, टेलिभिजनमा मात्र प्रचारप्रसार हुन्थ्यो । अहिले यसको अलावा पूरै डिजिटल प्लेटर्फममा प्रचार गर्नुपर्ने हुन्छ । डिजिटल प्लेटफर्ममा बढी इनर्जी लाग्ने रहेछ । प्रचार कस्तो भयो, मानिस माझ पुग्यो कि पुगेन भनेर पहिलेभन्दा अहिले सजिलै थाहा पाउन सकिन्छ ।

‘गाउँ आएको बाटो’ कस्तो फिल्म हो ?
फिल्म एउटा बुबाले आफ्नो छोरा हुर्काउन गर्ने सङ्घर्षको कथा हो । फरक केमात्र हो भन्दा कथाको बिचमा सडक आउँछ । त्यो सडकले विभिन्न सपना लिएर आउँछ । त्यो सपना प्राप्त गर्न गरिने सङ्घर्ष पनि फिल्ममा छ ।

फिल्ममा किन भन्न मन लाग्यो यो कथा ?
हाम्रो विकासको पछिल्लो चरणमा पूर्वाधारहरू पुर्‍याउने योजना तीव्र रूपमा चलिरहेको छ । त्यो क्रममा विकास त पुग्छ । त्यो विकाससँग अनुकूल हुने मेकानिजम बनाइँदो रहेनछ । त्यहाँ एक किसिमको इकोनोमी हुन्छ । त्यो इकोनोमीमा माथिबाट बजार थुपारिँदा विग्रह फैल्याउँछ । त्यसले मानिसहरूको सम्बन्धमा प्रभाव ल्याउँछ । त्यसैको अध्ययनजस्तो हो यो फिल्म ।

फिल्मको लक्षित वर्ग कुन हो ?
सबै प्रकारका दर्शकलाई उपयुक्त छ । सहर हुन् वा गाउँ, हाम्रो देशमा प्रवासी कल्चर मौलाएको छ । त्यसले परिवारको मजबुततालाई खुकुलो पारिरहेको छ । त्यो प्रकारको इमोसनसँग सबै परिचित र टच पनि हुनुहुन्छ । त्यसैले मेरो फिल्मले सबैलाई छुन्छ । यो सबै दर्शकका लागि उपयुक्त फिल्म हो ।

तपाईंको बुझाइमा फिल्म के हो ?
सन्देश प्राप्त नभई मनोरञ्जन हुँदैन । फिल्ममा सन्देश र मनोरञ्जन दुवैले भरिएको हुन्छ । धेरै मनोरञ्जन गर्ने फिल्मले पनि एक किसिमको सन्देश दिएको हुन्छ । सन्देश प्राप्त भएन भने फेरि मनोरञ्जन पनि हुँदैन । फिल्म हेर्न मानिस केही आकाङ्क्षा राखेर गएका हुन्छन् ।

अर्काको फिल्मको त आलोचना गर्नुहुन्छ । तपाईंको फिल्म आलोचना मुक्त छ ?
हो, म अरूको आलोचना गर्छु । त्यसको उद्देश्यले त्यो नदोहोरियोस् भन्ने प्रयास हो । यसो भन्दैमा म गल्ती गर्दिनँ भन्ने होइन । मेरो फिल्ममा पनि आलोचना गर्ने ठाउँ होलान्, हुन्छ पनि । कमसे कम थोरै आलोचना होस् भन्ने प्रयास गरेको त छु । आलोचनाबाट सिक्ने हो ।

विदेशका धेरै फेस्टिभलमा ‘गाउँ आएको बाटो’ छानिएको थियो । यसलाई कसरी बुझ्ने ?
‘गाउँ आएको बाटो’ ७/८ हजार फिल्ममध्येबाट विभिन्न फेस्टिभलका लागि छनोट भएको थियो । यसरी छनोट हुनु सानो कुरो होइन । यसरी फिल्म छनोट हुनु भनेको राम्रो भएरै हो भन्ने बुझ्नुपर्छ । नत्र यति धेरै फिल्ममा यो किन छानिन्थ्यो ? अर्को कुरो, फिल्ममा केही चिज छ र त छनोट प¥यो ।

फेस्टिभलमा पुगेका र पुरस्कार जितेका फिल्मले व्यवसाय गर्दैन भनिन्छ नि ?
अहिलेसम्म फेस्टिभलमा गएका हाम्रा फिल्म ६/७ वटा हो । तीमध्ये व्यवसाय नगरेको ‘रेड सुटकेस’ र ‘हल्कार’ले हो फेस्टिभलमा गएको ‘नुमाफुङ’, ‘कालोपोथी’, ‘सेतो सूर्य’, ‘ऐना झ्यालको पुतली’ लगायतले व्यवसाय राम्रो गरेको छ । त्यसैले कसरी यसो भन्न मिल्छ ? म फेस्टिभल जाने फिल्म र नजानेमा छुट्याउँदिन । जुन फिल्म कमर्सियल भनिएको छ, त्यसको सक्सेस सङ्ख्या कति छ र ? दुई वा चार होइन ? वर्षमा एक सय हाराहारी फिल्म निर्माण हुँदा ४ फिल्म चल्यो र अन्य चलेन भने कमर्सियल फिल्म चल्दैन भन्ने भाष्य हुँदैन । त्यसैले फेस्टिभलमा पुगेका फिल्म राम्रो भएर नै त्यहाँ पुगेको हो भनेर बुझ्नुपर्छ ।

राम्रो फिल्म निर्माणमा विश्वास गर्ने व्यक्ति, व्यवसायले अर्थ राख्छ कि राख्दैन ?
फिल्म कला हो । कला नभईकन फिल्म बन्दैन । त्यो कला गर्न पैसा चाहिन्छ । पैसा चाहिने भएको कारणले दर्शकसँग पुग्नुपर्ने हुन्छ । अन्य कला (पेन्टिङ, कविता)मा हामीले अलग तरिकाबाट कुरा गर्न सक्छौँ होला । फिल्म पैसालाई बाहेक गरेर कुरा गर्न सक्दैनौँ । फिल्ममा कला भयो भने मनोरञ्जन र आनन्द दिने हो । त्यो भयो भने व्यवसाय हुन्छ । त्यसैले फिल्ममा कला र पैसा जोडिएर आउँछ ।

तपाईंको फिल्मप्रति दर्शक तथा फिल्म क्षेत्रका व्यक्तिहरूको पनि अपेक्षा छ । यसले व्यावसायिक प्रेसर कतिको हुन्छ ?
फिल्म धेरै दर्शकले हेर्नुहोस् भन्ने चाहना छ । तर रेकर्ड ब्रेक गर्ने, रेकर्ड बनाउने भन्ने केही चाहना छैन । यो प्रकारको फिल्म हुन्छ र हेर्नुपर्छ भन्ने भए पुग्छ । मेरो विचारमा फिल्ममा विविधता हुनुपर्छ । जतिले हेरे पनि राम्रो रहेछ भनेर सुन्न पाए पुग्छ ।

आफ्नो फिल्म रिलिज हुँदै गर्दा समीक्षकको डर लाग्छ कि लाग्दैन ?
लाग्दैन । समीक्षकले देखेको कुरा लेख्ने हो । समीक्षाले छलफल, बहस गर्छ । समीक्षाले नेपाली फिल्म अगाडि बढाउन मद्दत गर्छ ।

दर्शकलाई केही भन्नु छ कि ?
हाम्रो बहुलता भएको देश हो । महाजात्रा र बोक्सीको घरको दर्शक फरकफरक हुन् । दर्शकले हलमा छिर्दा तटस्थ भएर के रहेछ भनेर हेर्नुभयो भने सबै प्रकारको फिल्मबाट इन्जोय गर्न सक्नुहुन्छ । यो फिल्मबाट धेरै अपेक्षा नराख्नुस् । राम्रो फिल्म बनाउने प्रयास गरेको छु । हेर्नुस्, राम्रो–नराम्रो जे लाग्छ, त्यस्तै प्रतिक्रिया दिनुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here