काठमाण्डाै, २१ पुस ।। नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्त्वको एकीकरण अभियान हर्सोल्लासकासाथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाले २०७६ सालदेखि हरेक वर्ष पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाण्डौसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, सेनाको नम्बर–३ बाहिनीपति सहायक रथी गौरवकुमार केसीले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गर्नुभएको हो ।

आज बिहान गोरखा दरबारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन यही २७ गते शुक्रवार काठमाण्डौ पुग्ने गोरखाको रिपुमर्दन गणका सेनानी एवं पदयात्रा समन्वय अधिकृत भुवनबहादुर थापामगरले बताउनुभयो । पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन सेनाको पोसाकमा रिपुमर्दन गण र शार्दुलजंग गुल्मका सेना सहभागी छन् ।

टर्चसहित नेपालको झण्डा र पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको सेनानी थापामगरले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए ।

तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको रिपुमर्दन गणको टोलीले नेपाली सेनाको धादिङको शिवदल गण, धादिङले नुवाकोटको जबरजंग गण र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौको कालीध्वज गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ । काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ ।

सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न थालेको हो । सेनाले यो पदमार्गको अध्ययन पूरा गरेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको झण्डै एक सय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्दैछ ।

काठमाण्डौको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा छ । पदमार्ग आसपास ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवालगायत सम्पदाहरु छन् । पदमार्गको धेरैजसो खण्डमा मध्यपहाडी राजमार्ग निर्माण भैरहेको छ । यसले ऐतिहासिक सम्पदा नासिने जोखिम पनि छ । नेपाली सेनाका उपरथी पौडेलले पदमार्गमा पर्ने सम्पदाहरुको संरक्षणमा पनि सेना सहभागी भैरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here