रौतहट, २३ मंसिर ।। बिजुलीको तार चुँडिएर ज्यानमाथि खस्दा रौतहटमा एक किसानको मृत्यु भएको छ । शनिबार मध्याह्न खेत जोत्दै गरेका माधव नारायण नगरपालिका-७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको करेन्ट लागेर मृत्यु भएको हो ।

खेत जोतिरहेका उनीमाथि ११ के.भी लाइनको बिजुलीको तार चुँडिएर खस्दा उनीसहित एउटा गोरूको पनि मृत्यु भएको हो। अर्को गोरू भने ज्यान बँचाएर भागेको छ । मध्याह्न खेतमै मृत्यु भएको बैजुको शव स्थानीयको विरोधका कारण साँझसम्म उठ्न सकेको थिएन ।

घटनापछि पण्डितको परिवार र स्थानीयले विद्युत् प्राधिकरणको कमजोरीका कारण बिजुलीको तार चुँडिएको भन्दै शव उठाउन दिएका थिएनन् ।

उनीहरूले स्थानीय प्रशासन र विद्युत् प्राधिकरणका सम्बन्धित व्यक्तिहरू नआएसम्म शव उठाउन नदिने भनेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र विद्युत् प्राधिकरणका प्रतिनिधिसहित स्थानीय जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए । प्रजिअसहित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफलपश्चात पाँच घन्टापछि स्थानीयले मृतक वैजुको शव उठाउन दिएका छन् ।

प्रजिअ धर्मेन्द्र कुमार मिश्रका अनुसार प्राधिकरणले नियम अनुसारको क्षतिपूर्ति रकम बैजुको परिवारलाई उपलब्ध गराउने सहमतिमा शव उठाएर मुचुल्का गरिएको छ । अहिले घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रजिअ मिश्रले जानकारी दिए ।

प्रजिअ मिश्रले घटनाबारे गम्भीर ढंगले अनुसन्धान हुने र पीडित परिवारलाई नियमसम्मत क्षतिपूर्ति उपलब्ध गराउने बताए । उनले तत्कालका लागि परिवारलाई पछि प्राप्त हुने रकममा कट्टा हुनेगरी किरिया खर्च वापत् १५ हजार रूपैयाँ उपलब्ध गराउने सहमति भएको पनि जानकारी दिए ।

घटनास्थल हेर्दा मानवीय त्रुटीका कारण बिजुलीको तार चुँडिएको नदेखिएको पनि उनले बताए। यस सम्बन्धमा विद्युत् प्राधिकरणसँग सोधपुछ हुने र तार चुँडिनुको कारण खोज्ने पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here