एजेन्सी, २८ भदौ ।। दुई पटककी ग्रान्ड स्लाम विजेता सिमोना हालेप चार वर्षका लागि प्रतिबन्धमा परेकी छन् । रोमानियाकी टेनिस स्टार हालेपलाई एन्टी डोपिङ नियमको उल्लंघन गरेको आरोपमा चार वर्षका प्रतिबन्ध गरिएको हो । एक स्वतन्त्र न्यायिक निकायले हालेपले जानीजानी एन्टी डोपिङ नियमको उल्लंघन गरेको ठहर गर्दै चार वर्षको प्रतिबन्ध लगाएको हो ।

सन् २०१८ मा फ्रेन्च ओपन र २०१९ मा विम्बल्डनको उपाधि जितेकी हालेपले आफूमाथि लगाइएको प्रतिबन्धका विरुद्ध खेलकुदको उच्च न्यायिक निकाय ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (सीएएस) मा अपिल गर्ने बताएकी छन् । ‘म अहिले पनि निरन्तर रुपमा प्रशिक्षण लिइरहेको छु । ममाथि एक्कासी प्रतिबन्ध लगाइउको खबर सुन्दा स्तब्ध भएको छु । ममाथि लागेको झुटो आरोपको डटेर सामना गर्नेछु’, उनले भनेकी छन् ।

पूर्व विश्व नम्बर एक हालेपको गत वर्ष डोपिङ परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो । गत वर्ष अमेरिकी (यूएस) ओपन टेनिस प्रतियोगिताका दौरान उनले प्रतिबन्धित औषधी रोक्साडुस्ट्याट प्रयोग गरेको पाइएको थियो । सन् २०२२ मा पनि हालेपले एन्टी डोपिङको नियम उल्लंघन गरेको आरोप लागेको थियो । उनले नियमित रुपमा डोपिङ परीक्षणमा सहभागी नभएको पाइएको थियो। तर, त्यतिबेला गरिएको परीक्षणमा उनको पिसावमा रोक्साडुस्ट्याट पाइएको थिएन। रोक्साडुस्ट्याटको सेवनले रातो रक्त कोशिका उत्पादन क्षमतालाई उत्तेजित पार्ने जनाइएको छ ।

हालेपलाई सन् २०२२ को अक्टोबरदेखि अस्थायी निलम्बन गरिएको थियो । चार वर्षको प्रतिबन्ध उनको अस्थायी निलम्बनदेखि नै गणना हुने भएको छ। हालेप सन् २०२६ को अक्टोबर ७ सम्म कार्ट बाहिरै रहनेछिन् । त्यतिबेला उनी ३५ वर्षको हुनेछिन् ।

हालेपले यो निर्णयका विरुद्ध अन्तिमसम्म लडाईं लडिरहने बताएकी छन् । ‘गत वर्ष मेरो खेल जीवनकै कठिन वर्ष रह्यो। ममाथि नसोचेको बज्रपात आइलाग्यो । मैले मेरो सम्पूर्ण जीवन टेनिसलाई समर्पित गरिसकेको छु । म यसबाट कहिले पनि टाढा हुन सक्तिनँ। तर, म आफ्नो लडाईं छाड्दिनँ । अन्तिमसम्म पनि लडिरहने छु’, सन् २०१७÷१८ मा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी हालेपले भनिन्, ‘मैले कहिल्यै पनि जानीजानी कुनै पनि प्रतिबन्धित औषधीको सेवन गरेको छैन। त्यसैले यो निर्णयको डटेर सामना गर्नेछु ।

हालेपले सन् २०२२ को हार्ड कोर्ट सिजन अघि टिमको सिफारिसमा सप्लिमेन्ट लिएको र त्यसमा प्रतिबन्धित कुनै पनि सामग्रीको प्रयोग नभएको बताएकी छन् । तर, ती सप्लिमेन्टमध्ये एउटा सामग्रीमा रोक्साडुस्ट्याट मिलाइएको पाइएको उनले दाबी गरिन् । सप्लिमेन्ट उत्पादन कम्पनीलाई पनि कानुनी प्रक्रियामा ल्याउनका लागि तयारी गरिरहेको उनले जानकारी दिइन् । ‘सन् २०२३ को सुरुवातको परीक्षण नेगेटिभ आएको थियो । तर, त्यसपछिका साप्ताहिक परीक्षणहरू भने लगातार पोजेटिभ देखिएको थियो’, उनले भनिन्, ‘म स्वच्छ र निष्पक्ष खेलमा विश्वास गर्दछु ।

एक खेलाडीका रुपमा दुई दशक बिताएको छु । सयौं प्रतियोगिता खेलेको छु भने दुई वटा त ग्रान्डस्लाम नै जितेको छु । मेरो शरीरमा पाइएको भने रोक्साडुस्ट्याटको परीक्षणका लागि दुई सयभन्दा बढी रक्त परीक्षण गरेको थिएँ। लगभग त्यही मात्रामा पिसावको पनि परीक्षण गरेको थिएँ । ती सबै नेगेटिभ पाइएको थियो । प्रोफेसनल टेनिस प्लेयर संघले हालेपको परीक्षण पटकपटक ढिला गरिएको उल्लेख गर्दै हालेपको कानुनी लडाईंमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here