काठमाडौं, १९ भदौ ।। सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सिआईबीले बयान लिएको छ । ६० किलो सुन प्रकरणमा ‘कनेक्सन’ देखिएपछि सिआईबीले पुनसँग बयान लिएको हो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको कनेक्सन देखिएको प्रमाण फेला परेको दाबी गरेको छ ।

दीपेशसँग सिआईबीको टोलीले करिब चार घण्टा बयान लिएको थियो। बयानका लागि दीपेश सिआईबी परिसर पुगेका थिए । सुन तस्करीमा उनले आफ्नो संलग्नताबारे इन्कारी बयान दिएको सिआईबी स्रोतले जानकारी दिएको छ ।

दीपेश माओवादी केन्द्रको भातृसंस्था अखिल क्रान्तिकारीका महासचिव हुन् । हङकङबाट काठमाडौं तस्करी भएको उक्त सुन प्रकरणमा सिआईबीले विभिन्न १०० जना व्यक्तिको नाम निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा ६ जना विदेशीसहित २६ जना प्रहरी नियन्त्रणमा छन् ।
हङकङबाट ‘रेडी ट्रेड प्राली’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट गत साउन ३ गते बरामद भएको थियो। राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले उक्त सुन फेला पारेको थियो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको सुन प्रकरणमा चिनिया नागरिकको मुख्य भूमिका भएको बुझिएको छ । सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा बेल्जियम नागरिक दावा छिरिङ, चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा, ली-नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, नेपाली नागरिक गणेश पौडेल, रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, किशोर बस्नेत, सुमन खरेल छन् ।

अख्तियारले पनि अनुसन्धान गर्दै

सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थालेको छ । अख्तियार स्रोतका अनुसार सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।

अर्थ मन्त्रालयका तत्कालीन महानिर्देशक झलकराम अधिकारीको सुन प्रकरणमा पक्राउ गरेको व्यक्तिसँग कुराकानी भएको भेटिएपछि अन्य कर्मचारी पनि अख्तियारको निगरानीमा परेका छन् । अख्तियारले महानिर्देशक अधिकारीसहित केही कर्मचारीको विवरण माग गरेर छानविन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here