जनकपुरधाम ०९ साउन ।। मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा पोषणसम्बन्धी समस्या समाधान गर्न संघीय र स्थानीय सरकारसित सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित पोषण सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यादवले मधेस प्रदेशमा पोषण ठुलो समस्याको रूपमा देखिएकाले यसको समाधानको लागि आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको बताए । बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनको भनाई थियो ।

सो अवसरमा नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु देउवाले शिशुसँगै आमाको पनि पोषणको आवश्यकतामा जोड दिइन् । ‘पोषण अभावमा आमा कमजोर हुँदा शिशु स्वस्थ हुँदैन,’ उनले भनिन्, ‘त्यसैले आमालाई पनि पोषणको आवश्यकता छ ।’ मानवीय विकास सूचकाङ्कमा पछि परेको मधेस प्रदेशको विकासको लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने धारणा उनले राखिन् ।

छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रदेशलाई संघीय सरकारले ओझेलमा पारेको टिप्पणी गरे । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंहले केही दिनभित्रै मधेस प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा हुने जानकारी दिए । प्रदेशको १ सय १८ पालिका पूर्ण खोपयुक्त घोषणा भइसकेको र बाँकी १८ पालिका घोषणाको तयारीमा रहेको मन्त्री सिंहले बताए ।

सो अवसरमा पोषण सम्बन्धी राष्ट्रिय योजना आयोगकोतर्फबाट डा. किरण रुपाखेती, प्रदेश नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी लगायतले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, वन तथा वातावरण मन्त्री रमेश पटेल, विना विभागीय मन्त्री सुरिता साह, प्रमुख सचिव किशोर चौधरी लगायत प्रदेश सरकारका सचिव तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here