काठमाडौं ०३ असार ।। काठमाडौं महानगरले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाइरहेको छ । सरकारी जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगरले खाली गराउन लागेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
उनले भने, ‘तीन दिन अगाडि आएर भवनहरु खाली गर्न हामीले सूचना जारी गरिसकेका थियौं । उहाँहरुलाई बुधबारसम्म नहटाए महानगर आएर हटाउने जानकारी दिएका थियौं । आज आएर खाली गर्न लागेका हौं ।
पूर्वसूचना अनुसार नै प्रहरीले भवन खाली गराउन लागेको उनको भनाई छ। भद्रकुमारी घले सेवा सदनमा आश्रय लिएका अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा व्यवस्थापन गरिएको पाण्डेले जानकारी दिए ।
तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगर प्रहरीसहितको टोलीले अनाधिकृत संरचनामा डोजर चलाएको हो । सदनले झण्डै ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पुस्तकालय, सहकारी संस्थालगायतका कार्य सञ्चालन गर्दै आएको थियो ।