काठमाडौं १५ भदौ ।। महाभियोग सिफारिस समितिका सदस्य तथा नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीमाथि गरिएका प्रश्नहरुको जवाफ दिने क्रममा सीमबाहिर गएर बोल्न खोजेको आरोप लगाएका छन् ।

समितिमा बयानका क्रममा आफ्नो प्रतिरक्षा गर्दै राणाले राजनीतिक रूपले नियुक्ति भएका न्यायाधीशहरूका कारणले आफूले एकमतले निर्णय गर्न नसकेको कुरा राखेका थिए । राणाले आफ्नो दोष अरूको टाउकोमा पन्छाउन खोजेपछि आफूहरूले संविधानको धारा १३६ का अनुसार न्यायपालिकामा भएका सबै निर्णयहरूको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेको विश्वकर्माले बताए । ‘जवाफमा राणाले मैले बोल्ने क्रममा मात्र त्यसो भनेको हुँ । म जिम्मेवारी लिन्छु भनेर भन्नुभयो,’ विश्वकर्माले राणाको भनाई उद्धृत गर्दै भने ।

विश्वकर्माले प्रधानन्यायाधीशले आफ्नो संवैधानिक पदीय दायित्व पुरा नगरेबापत संसद्का एक चौथाइ सदस्यहरूले २१ बुँदे महाभियोग दर्ता गरेका बताउँदै आज आरोपित राणामाथि समितिले सोध्ने क्रम जारी रहेको बताए । जवाफ दिने क्रममा राणाले अभियोगको छलफल किन ढिलो आयो भनेर जिज्ञासा राखेको पनि सुनाए । राणाले यतिबेला सफाइका आधारहरू प्रस्तुत गरिरहेको उनले भनेका कुरालाई छानबिन गर्न बाँकी नै रहेको बताए ।

उनले समितिले तय गरेको कार्यतालिका पनि परिमार्जन गर्ने तयारी गरिरहेको जानकारी दिए । प्राप्त कागजातको अध्ययन गर्नका लागि समय लाग्ने तथा प्रधानन्यायाधीश माथि लगाइएको महाभियोगमा हचुवाका भरमा निर्णय गर्न नहुने भन्दै वृहत् छलफल र अध्ययनका लागि कार्यतालिका परिमार्जन गर्ने तयारी गरिएको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here