काठमाडौँ १४ भदौ ।। प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालु अधिवेशनमा नै टुंगोमा पुर्याउन सरकारले पहल गर्ने बताएका छन् । मंगलबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले मिडिया काउन्सिल विधेयकसहित विचाराधीन अवस्थामा रहेका विधेयकहरुलाई टुंगोमा पुर्याउन सरकारले पहल गर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेको भन्दै महासंघका पदाधिकारीहरूले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
महासंघका अध्यक्ष विपुल पोखरेलसहित पदाधिकारीसँग भेटपछि प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई फोनमार्फत निर्देशन दिएका थिए ।
महासंघका अध्यक्ष पोखरेलले प्रधानमन्त्रीसँगको भेटमा मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुंगोमा पुर्याउन पहल गर्न आग्रह गरिएको र सकारात्मक प्रतिक्रिया पाएको बताए । महासंघले अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै चिन्ता प्रकट गरेको छ ।
महासंघले प्रतिनिधिसभा भङ्ग हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगोमा पुर्याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।