काठमाडौं १७ असार ।। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले छिट्टै सरकारलाई मितिबारे सिफारिस गर्ने र थप परामर्श गरी सरकारले यही महिनाभित्र मिति घोषणा गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । परामर्श तथा सिफारिसलगत्तै असार मसान्तभित्र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावको मिति घोषणा हुने उहाँको भनाइ छ । आयोगले कात्तिक ३० गतेका लागि चुनावको मिति सिफारिस गर्ने सम्भावना छ ।

सरकारले पनि कात्तिक मसान्तभित्र चुनाव गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ । प्रमुख आयुक्त थपलियाका अनुसार आउने चुनाव पनि सकेसम्म एकै चरणमा गर्ने तयारी छ । तर त्यसका लागि सरकारले पर्याप्त मात्रामा सुरक्षा व्यवस्था र स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ । आउने चुनावका लागि मतपत्र छरितो बनाउने प्रयास गर्ने आयोगले जनाएको छ ।

आयोगले जिम्मेवारीपूर्ण ढङ्गले पालिका चुनाव सफल बनाएको र आन्तरिक रुपमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको तयारीमा जुटिसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।

सरकार विद्युतीय भोटिङ मेसिन खरिद गर्न तयार भएमा त्यसैअनुसार मतदान सम्पन्न गर्न पनि आयोग तयार रहेको उहाँले बताउनुभयो । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावमा उम्मेदवारलाई प्रचार प्रसारका लागि कम्तीमा एक महिनाको समय प्रदान गर्ने तयारी आयोगले गरेको छ ।

प्रचारको समय अपुग भएको भन्दै उम्मेदवारबाट गुनासो आएको छ । अबको चुनावमा बजेटको सिलिङ बढाएर भए पनि मतदाता शिक्षामा जोड दिन आयोगलाई सुझाव प्राप्त भएको प्रमुख आयुक्त थपलियाले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here