काठमाडौं १५ असार ।। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कि त्यसको विकल्प खोज्ने भन्ने सम्बन्धमा न्यायाधीशहरुको राय बाझिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको रायमा विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत सहमत हुँदा हरिकृष्ण कार्कीको रायमा डा. मनोजकुमार शर्मा सहमत भएका छन् ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको अन्य कुनै स्थानमा पनि बनाउन सम्भव छ कि भन्ने रायमा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत सहमत छन् भने सोही स्थानमै थोरै मात्रै बन फँडानी गरी न्युनतम क्षति बेहोर्ने गरी बनाउन उपयुक्त हुने वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीको रायमा न्यायाधीश मनोजकुमार शर्मा सहमत भएका छन् । यद्यपि तीन सदस्य सहमत भएको रायलाई नै बहुमत राय मानिँदै फैसला मानिने भएकाले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको रायलाई फैसलाको अंशको रुपमा लिइएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा सम्मिलित तीन सदस्य रहेका न्यायाधीशहरूले पुनः अध्ययन गरी निजगढकै विकल्प दिन सकिने अवस्था रहे विकल्प दिनसमेत भनेका छन् । खतिवडाको रायमा हवाई उडानको आर्थिक तथा प्राविधिक सम्भाव्यता समेतका कुराहरु सम्बन्धमा वातावरण, वन, वन्यजन्तु, हवाई उडान व्यवस्थापन, अर्थशास्त्री, समाजशास्त्री, प्रशासनविद् लगायत सम्बन्धित विषयगत विज्ञता भएका आवश्यक सङ्ख्याका तटस्थ, निष्पक्ष, तथा दक्ष विषय–विज्ञहरुको समूहबाट उपलव्ध विकल्पहरु सहित वातावरणीय क्षतिलाई हरसम्भव न्यूनीकरण गर्ने उपाय पहिल्याई; विमानस्थल निर्माण गर्ने स्थलको उपयुक्त सम्बन्धमा वस्तुगत र तार्किक रुपमा एकीन गरी; छनौट गरिएको स्थानको वातावरण प्रभाव मूल्याङ्कन कानूनी विधि र प्रकृया अनुसार गराई; विज्ञ समूहबाट राय ठहर सहितको प्रतिवेदन लिई विमानस्थल निर्माण गर्न भनेका छन् ।

स्पष्टरुपमा निजगढको विकल्प खोज्न नभनिए पनि अर्को स्थानमा यस्तै प्रकृतिको विमानस्थल बनाउन सम्भव भएमा त्यसका बारेमा पनि सोच्न सरकारका नाममा परमादेश दिएका छन् । यसअघिका चारकिल्ला तोक्ने, क्षेत्रफल तोक्ने लगायतका निर्णय बदर गर्दै सोही स्थानमा बनाउने भएपनि पुनः अध्ययन गर्न परमादेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here