रौतहट १३ जेठ ।। दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाले दोस्रो पटक पदभार ग्रहण गरेका छ्न । पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष झाले पहिलो कार्यकालमा आफुले घोषणा तथा शुभारम्भ गरेको “छोरी संरक्षण” कार्यक्रमलाई दोस्रो कार्यकालमा पनि निरन्तरता दिएका छन् ।

दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा झाले आफ्नो पहिलो कार्यकालमा “छोरी संरक्षण” कार्यक्रममा रु. दुई हजारका दरले घोषणा गरेको आर्थिक सहयोग अब दोस्रो कार्यकाल २०७९ साउन महिना १ गते देखि वडामा जन्मिने प्रत्येक छोरीलाई ५ हजार आर्थिक सहयोग गर्ने बताएका छन् । छोरीको स्याहार सुसार गर्नको लागि, सामाजिक विभेद अन्त्यको लागि र छोरीको सम्मानको लागि यो कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष झाले बताए ।

वडा अध्यक्ष झाले भने “छोरी संरक्षण” कार्यक्रमबाट छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, तिनालाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको वडा अध्यक्ष झाको ठहर छ । वडा अध्यक्ष झा आफ्नो पहिलो कार्यकालमा २०७८ असोज १२ गते मंगलवारका दिन देखि “छोरी संरक्षण कार्यक्रमको सुरुवात गरेका थिए ।

दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मा जन्मिने सम्पुर्ण छोरीलाइ “छोरी संरक्षण कार्यक्रम” अन्तर्गत रु. २ हजार दिने वडा अध्यक्ष झाले घोषणा गरेका थिए भने सोही कार्यक्रमलाई निरन्तरता दिदौ अब आउदो २०७९ साउन देखि रु. ३ हजार थप गरि ५ हजार दिने घोषणा गरेका छन् । साथै वडा अध्यक्ष झाले दुर्गा भगवती गाउँपालिकाको गाउँसभाबाट “छोरी विमा कार्यक्रम” संचालन गराउने कुरा बताए ।

पदभार ग्रहण कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष झाले सबै वडावासी मतदाताहरुदाई धन्यवाद दिँदै आफुले वडाबाट गर्ने काममा कसैप्रति विभेद नगरी सबैलाई समान रुपमा सेवा प्रवाह गर्ने बताए । झाले वडाको विकासका लागि सबैको सल्लाह अनुसार सबैसंग हातेमालो गरि अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here