काठमाडौं, ०३ भदौ ।। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे र प्रमुख सचेतकबीचको छलफल बिना निष्कर्ष सकिएको छ । आज बिहान सिंहदरबारमा बसेको बैठकमा सचेतकहरुले आ–आफ्ना दलका अडान राखेपछि बैठक निष्कर्षबिहीन भएको हो । बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले अवरुद्ध सदन चलाउनका लागि निकास निकाल्नका लागि छलफल भएपनि दलहरुले आफ्नो अडान कायमै राखेको बताइन् ।

त्यस्तै सदनमा कांग्रेस सांसद सुनील शर्माको अभिव्यक्तिलाई रेकर्डबाट हटाउने वा नहटाउने भन्ने विषयमा पनि मतभेद कायमै रहेको उनको भनाई छ । बैठकमा सभामुख घिमिरेले समितिको नेतृत्व चयन प्रक्रिया बाँकी रहेकाले सदनको अवरोध हटाउनका लागि निरन्तर पहल गर्ने बताएको सचेतक थिङले जानकारी दिइन् ।

यसैगरी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको बताए । उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान कायमै छ । बैठकमा कुरा मिल्न सकेन । अब प्रधानमन्त्रीले बोलाउनु भएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए ।

विमानस्थलबाट क्वीटल (पगालेपश्चात ६० किलो ७ सय १६ ग्राम) सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद बैठकमा अवरोध गरिरहेको छ।एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले पटक-पटक सारिरहेका छन् । संसद बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए । तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here