जनकपुरधाम १२ चैत ।। मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका झण्डै तीन दर्जन योजनाको फाइल गायब भएको खुलासा भएको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सम्झौता भएर कामसम्पन्न भइसकेको योजनाको फाइल गायब भएको खुलेको हो ।

बिहीबार मुख्यमन्त्री कार्यालयका पूर्व सचिव यमप्रसाद भुषाललाई निर्माण व्यवसायीहरुले मधेश भवन भित्रै घेराबन्दी गरेपछि यस्तो रहस्य बाहिरएको हो । दुई महिना अघि मुख्यमन्त्री कार्यालयबाट सरुवा भएर सचिव भुषाल रावाना लिएर गइसकेका थिए । कुनै कामले दुई महिनापछि मधेश भवनमा आएपछि उनलाई व्यवसायीहरुले बिहीबार ८ घण्टा घेराबन्दी गरेको हो ।

बिहीबार बिहानै ९ बजेदेखि अपराहन्न ५ बजेसम्म मधेश भवन भित्रको पहिला उनी बस्ने क्वाटरमा व्यवसायीहरु घेराबन्दी गरेका थिए । उनलाई ८ घण्टासम्म घेराबन्दी गरेको व्यवसायी अरुण यादवले बताए । हराएको फाइल ल्याउनु पर्ने, भुक्तानी गराउनु पर्ने अडान लिएर व्यवसायीहरु घेरेका थिए । व्यवसायीले घेराबन्दी गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनलाई सुरक्षा दिएको थियो ।

भुषाललाई त्यहाँबाट सकुशल बाहिर निकालेको धनुषाका प्रहरी उपरीक्षक (सपी) बसन्त रजौरेले टुडेपाटीलाई जानकारी दिए । सचिव भुषालले सोमबार फाइल कार्यालयलाई बुझाउने व्यवसायीसंग प्रतिबद्धता गरेपछि उनलाई निस्किन दिइएको व्यवसायी सुशील सिंहले बताए ।

२० प्रतिशत कमिसन नदिँदा सचिव भुषाल फाइल लिएर भागेको आरोप

सचिव भुषाल मुख्यमन्त्री कार्यालयमा छँदा त्यहाँ उनी बेटीपढाउ बेटी बचाउ, र स्वच्छता अभियान कार्यक्रमका मुख्य हर्ताकर्ता थिए । उनी कार्यालयमा हुँदा २० प्रतिशत पहिले नै कमिसन नदिएपछि भुक्तानी नगरेको एसके मल्टि सप्लायर्सका सञ्चालक दशरथ साहले सुनाए । सरुवा पश्चात सचिव भुषालले योजनाका फाइलहरु नै लिएर भागेको उनको आरोप छ ।

‘सचिव भुषाल सरुवा भएर जाँदा कार्यालयमा हामीले भुक्तानीको लगि बुझाएको फाइल नै नरहेको कर्मचारीहरुले बताउने गरेका छन् । हामी दुई महिनादेखि भौतारिरहेका छौं’ व्यवसायी साहले भने ‘२० प्रतिशत पहिला नै कमिसन दिनुपर्ने अडान राखेका थिए । हामीले पहिला भुक्तानी गर्न भन्यौ । आलटाल गर्दागर्दै पछि सरुवा भएपछि फाइल नै लिएर भागे । बुधबार सचिव भुषाल जनकपुर आएको सुइको पाएपछि उनलाई घेरा हालेको व्यवसायीहरु बताउँछन् ।

एसके मल्टि सप्लायर्सले प्रदेश प्रमुख कार्यालयमा फर्निचर, मर्मत, शौचालय निर्माणसहितको २५ लाखको काम गरेको बताएको छ । साहले आफ्नै एसके कन्ट्रक्सनबाट प्रदेश प्रमुख कार्यालयको पर्खाल निर्माण र रंगरोगनको ५ लाखको काम गरेको बताए ।

अर्का कम्पनी गौरी एण्ड उज्ज्वल कन्ट्रक्सनले विभिन्न नारा लेखिएको मुख्यमन्त्रीको तस्बिरसहितको होडिंग बोर्डको ३३ लाख रुपैयाँ भुक्तानी रहेको संचालक अरुण यादवको भनाइ छ । सुरुमा कमिसन मागेको र सो नदिँदा आफ्नो पनि फाइल सचिव भुषालले गायब गरेको यादवको आरोप छ । उनी आफूहरु जस्तै कम्पनीको ३२ वटा फाइल गायब गरेको र सो फाइलहरु नभेटिँदा व्यवसायीहरु पीडित भएको उनले बताए ।

यता ८ घण्टासम्म घेराबन्दीमा परेका सचिव भुषालले आफूले कमिसन नदिँदा भुक्तानी नगरेको व्यवसायीको आरोप निराधार रहेको बताए । उनले आफूले फाइल घर नलगेको र कार्यालयमै हुनु पर्ने दावी गरे ।

‘आइतबार वा सोमबार उहाँहरुको भुक्तानी भइ हाल्छ । म सरुवा भइसकेपनि भुक्तानीको लागि पहल गरिदिन्छु । उनीहरुलाई मलाई जान दिन भन्नुस् । सहयोग गरिदिनुस्’ भन्दै उनले टुडेपाटीसंग बिलौना गरेका थिए ।

यता मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्ण बहादुर राउतले फाइल गायब भएको विषयमा केहि थाहा नभएको बताए । ,मलाई फाइल गायब भएको विषयमा थाहा छैन । कार्यालयमै बुझ्नु पर्छ ।, उनले टुडेपाटीसंग भने ।

‘म एउटा कार्यक्रममा थिएँ । सचिव भुषाललाई घेराबन्दी गरेको विषयमा मलाई जानकारी छैन । फाइल हराएको विषयमा पनि थाहा भएन’ उनले भने ।

सचिव भुषाल मुख्यमन्त्री कार्यालयमा छँदा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्र अन्तर्गत साईकल खरिद सम्बन्धि फाइल र मुख्यमन्त्री स्वच्छता सम्बन्धी केहि फाइल लगेको थियो ।

स्वच्छता अभियानको विषयमा पनि अख्तियारले पटक पटक फाइल पठाउन मुख्यमन्त्री कार्यालयलाई पत्राचार गर्ने गरेको छ । स्वच्छता अभियानको धेरै फाइल पूर्व कर्मचारी इन्जिनियर भगवान झाले आफ्नो घरमा राखेको र केहि फाइल सचिव भुषालले लुकाएको व्यापक चर्चा छ ।

मधेश सरकारको लोकप्रिय यी दुई कार्यक्रम बदनाम भएपछि अन्य मन्त्रालयमा समायोजन गरिएको छ । बेटी पढाउ बेटी बचाउ अभियान समाजिक विकास मन्त्रालयमा समायोजन गरिएको छ भने स्वच्छता अभियान खानेपानी तथा सरसफाई मन्त्रालयमा समायोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here