रौतहट १९ फागुन ।। नेपाली कांग्रेसको मधेश प्रदेशका जिल्लाहरुमा चुनाव लागेको छ । जिल्ला सभापति लगायत पदहरुका लागि हुने चुनाव केही जिल्लामा पहिलो चरणमै नतिजा आउने देखिएको छ । तर केही जिल्लाहरुमा नतिजा आउन दोस्रो पटक मतदान हुने संभावना छ ।

मधेश प्रदेशमा संस्थापन पक्ष बलियो देखिएको छ । तर केही जिल्लामा संस्थापन पक्षबाट नै दुई जनाले उम्मेदवारी दिएका छन् । रौतहट जिल्लामा पनि सोझो प्रतिस्पर्धा हुने भएको छ । १९ गते उम्मेदवारी र २० गते मतदानको कार्यक्रम रहेको छ । सभापतिका लागि सुनिल यादव ‘जितेन्द्र’ संस्थापन पक्षबाट र ह्रदयनारायण यादव इतर पक्षबाट उम्मेदवारी घोषणा गरेका छन् । सुनिललाई प्रदेश सभापति कृष्णा यादव र ह्रदयनारायणलाई अफताव आलम लगायतका समूहले समर्थन गरेका छन् ।

सप्तरी जिल्लामा सभापति लगायत कार्यसमितिका लागि बुधवार उम्मेदवारी दर्ता भएको छ । सप्तरी सभापतिका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । बुधवार समूह सहित संस्थापन पक्षबाट वर्तमान सचिव शत्रुधन प्रसाद यादव र इतर पक्षका रामदेव साहले मनोनयन पत्र दर्ता गराएका हुन् । संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापति समेत रहेका केन्द्रीय सदस्य दिनेश कुमार यादवको समर्थन छ । शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ ।सप्तरीमा २० गते मतदान हुने भएको छ । त्यसैगरी सिरहा जिल्लामा विवाद देखिएकोले चुनावको कार्यक्रम सार्वजनिक हुन सकेको छैन् ।उम्मेदवारी दर्ता र मतदानको मिति निर्धारण गर्न विहीवार बैठक बस्ने भएको छ ।

सिरहामा सोझो प्रतिस्पर्धा हुने भएको छ । सभापतिका लागि रामचन्द्र यादव र रामसुन्दर चौधरीले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।दुबै जनाले संस्थापन पक्ष रहेकै दाबी गरे पनि चौधरीलाई प्रदीप गिरि लगायतका नेताहरुको समर्थन रहेको बताइन्छ । तर धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । धनुषामा विहीवार उम्मेदवारी र २३ गते मतदान हुने कार्यक्रम रहेको छ । धनुषा सभापतिका लागि संस्थापन पक्षबाट सन्तोष यादव, विमलेन्द्र निधि समूहबाट योगेन्द्र पञ्जियार र शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव उम्मदेवारी घोषणा गरिसकेका छन् ।

कांग्रेसको विधान अनुसार पहिलो चरणमा सभापतिका लागि कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके पहिलो र दोस्रो प्रतिस्पर्धीबीच चुनाव हुनेछ । धनुषामा पहिलो चरणमा नतिजा आउने संभावना नरहेको नेताहरुले जनाएका छन् । त्यसो भए २४ गते सभापतिका लागि पूनःमतदान हुनेछ । महोत्तरीमा पनि त्रिपक्षीय भीडन्त हुने भएको छ । बुधवार भएको उम्मेदवारी दर्तामा सभापतिका लागि नागेश्वर यादव, सुशील यादव र बजरंग नेपालीले मनोनयन दर्ता गराएका छन् । महोत्तरीमा संस्थापन र संस्थापन इतर भन्दा सभापति रहेका महेन्द्र कुमार राय यादवको समर्थनमा सुशील यादव र रामचन्द्र तिवारीको समर्थनमा नागेश्वर यादवले उम्मेदवारी दिएका छन् । नेपालीले आफूलाई स्वतन्त्र उम्मेदवार दाबी गरेका छन् । नागेश्वर यादव र सुशील यादव दुबै जना भने संस्थापन पक्ष निकटकै मानिन्छन् । तर जिल्लामा राय र तिवारीको गुट नै बलियो मानिन्छ । तिवारी संस्थापन इतर र राय भने संस्थापन पक्षका नेता हुन् ।

सर्लाहीमा पनि चुनावको कार्यक्रम सार्वजनिक भएको छ । घोषित चुनावी कार्यक्रम अनुसार २१ गते उम्मेदवारी दर्ता र २३ गते मतदान हुनेछ । सभापतिका लागि दुई जना मात्र उम्मेदवार रहेकाले पहिलो चरणमै नतिजा आउने निश्चित छ ।सभापतिका लागि संस्थापन पक्षबाट सुरेन्द्र सिंह र शेखर कोइराला समूहबाट लक्ष्मण रायले उम्मेदवारी दिने पक्का छ । तर बारा जिल्लामा त्रिपक्षीय भीडन्त हुनेछ । विहीवार उम्मेदवारी र २१ गते मतदानको कार्यक्रम तय गरिएको छ ।

संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । रामानन्द प्रसाद यादवले शेखर कोइरालाबाट उम्मेदवार हुनेछन् । त्रिपक्षीय भीडन्त भएपछि पहिलो चरणमा नतिजा आउन नसक्ने बताइएको छ । तर पर्सा जिल्लामा सभापतिका लागि दुईजना मात्र प्रतिस्पर्धी रहेकाले पहिलो चरणमै नतिजा आउने छ । सभापतिका लागि जनार्दनसिंह क्षेत्री र श्याम पटेलबीच प्रतिस्पर्धा हुने भएको छ । क्षेत्री संस्थापन पक्षका उम्मेदवार हुन् । पटेललाई संस्थापन इतर पक्षका नेताहरु अजय द्विवेदी र राजेन्द्रबहादुर अमात्य लगायतको समर्थन छ । महानगरपालिका कांग्रेसमा संस्थापन इतरपक्षले नै जित हात पारेकाले जिल्लामा पनि त्यसको प्रभाव पर्ने बताइएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here