काठमाडौं
लेखकले ओमिक्रोनको प्रभावलाई दुई चरणमा हेर्ने गरेको छ।पहिलो चरणमा यसको प्रभावलाई रोक्ने अथवा नियन्त्रण गर्ने कोसिस गरिने भने, दोस्रो चरणमा सङ्क्रमित भैसकेकाहरू मध्ये जोखिममा भएकाहरू अस्पताल आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर तयारी गर्नु पर्ने भन्ने हो।दुई मध्ये पहिलो चरण ओमिक्रोनले पार गरिसकेको देखिन्छ। तसर्थ सङ्क्रमितहरू अधिकांश घर घरमा बसिरहेको अवस्थामा छन् । स्वास्थ्य मन्त्रालयको भनाइ अनुसार दोस्रो लहरमा भन्दा तुलनात्मक रूपमा अहिले (तेस्रो लहरमा) धेरैलाई आईसीयु तथा भेन्टिलेटरको आवश्यकता परेको छैन। लेखकको सम्पर्कमा रहेका सयौँ सङ्क्रमितहरू ३ देखि ७ दिनसम्ममा स्वास्थ्य लाभ गरेका देखिन्छन्, र बाकीमा पनि ठुलो स्वास्थ्य समस्या भने देखिएको छैन। हाल कोरोना पोजेटिभ देखिएकाहरूको सीटी भ्यालु डेल्टाको लहरमा भन्दा केही बढी देखिने गरेको छ । अर्थात् डेल्टाको तुलनामा ओमिक्रोनको सीटी भ्यालु उकालो लागेको देखिन्छ भने रोगको गम्भीरता तुलनात्मक कम देखिएको छ ।हात हातमा पुग्ने कोरोना पोजेटिभको नतिजासँगै सीटी भ्यालुको अङ्क सम्प्रेषण पनि गरेको हुन्छ। खासगरी, प्रत्येक लक्षित जीनको फरक फरक सीटी भ्यालु उल्लेख गरेको हुन्छ । सीटी भन्नाले “साइकल थ्रेसहोल्ड” भनिएको हो । सामान्यतया सीटी भ्यालुको आधारमा सङ्क्रमितमा भाइरसको भार, गम्भीरता र सङ्क्रमण फैलाउन सक्ने क्षमताको मापन गर्ने गरिन्छ । यो विशेष गरेर उपचारमा संलग्न चिकित्सकलाई सङ्क्रमितको अवस्था, भावी उपचार तथा परामर्शको लागि उपयोगी मान्ने गरिन्छ।सङ्क्रमितको सिटी भ्यालु जति कम भयो त्यति नै भाइरसको भार बढी, सङ्क्रमितमा लक्षण गम्भीर हुनसक्ने र बढी सङ्क्रामक हुनसक्ने अनुमान गरिन्छ । त्यस्तै सिटी भ्यालु बढ्दै गए भाइरसको भार, लक्षणको गम्भीरता र फैलने क्षमता कम हुँदै जाने अनुमान गरिन्छ । तर क्लिनिकल सेटिङ्गमा माथि उल्लेख गरे जस्तो हुबहु हुने भने गर्दैन । अर्थात्, कतिपयमा सिटी भ्यालु कम हुँदा पनि स्वास्थ्यमा जटिलता देखिँदैन भने, सिटी भ्यालु उच्च हुँदा पनि कतिपय सङ्क्रमित जटिल अवस्थामा गएको पनि पाइन्छ । सिटी भ्यालु बाहेक सङ्क्रमितमा रोग प्रतिरोधात्मक क्षमताको अवस्था, उमेर, लिङ्ग, दीर्घरोग तथा खोप लिए/नलिएको अवस्थाले सङ्क्रमणको जटिलता निर्धारण गर्ने गर्दछ ।