रौतहट ८ माघ ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा हिंसात्मक अभिव्यक्ति दिने संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री रेणु यादवको राजिनामाको माग गर्दै राष्ट्रिय युवा संघ नेकपाले बिरोध जुलुस निकाली पुतला दहन गरेको हो । माघ ५ गते बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा आफनो पदीय गरिमाको ख्याल नगरी सार्वजनिक स्थलमै हिंसा भड्काउने हिंसात्मक अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको पुतला दहनसँगै नैतिकताको आधारमा पदबाट राजिनामाको माग गर्दै नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रौतहटले आज एक कार्यक्रम गरी सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेको छ ।

पदीय मर्यादाबिपरित अभिब्यक्ति दिने मन्त्री यादले तत्काल राजिनामा दिनुपर्ने नभए बर्खास्त गर्नुपर्ने भन्दै युवा संघ नेपाल रौतहटले मचर्को विरोध प्रदर्शन गरेको हो । सयौं युवा प्रदर्शनकारीले सडकमा उत्रिएर मन्त्रिको राजिनामाको माग सहित नाराबाजी गर्दै गौरमा बिरोध जनाएका छन । साथै गौर हत्याकाण्डको फाइल पुन: खोलेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । जिल्ला स्थित नेकपा एमाले पार्टी कार्यालयबाट सुरु भएको रैली बिपी चौकमा गएर कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्री यादवलाई बर्खास्त नगरे युवा संघले आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी युवा संघका नेताहरुले दिएका छन् ।

मन्त्री यादवले बुधबार गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड जस्तै घेराबन्दीमा पारि हत्या गर्ने धम्की दिनुभएको थियो । मर्यादा विपरितको उक्त अभिव्यक्तिका कारण मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न चर्को दवाव परेपनि प्रधानमन्त्री शेरबहादुर देउवा चुपचाप बस्नुभएको छ । सोही कारण युवा संघले रौतहट जिल्लाको सदरमुकाममै प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा अराजक मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर, जंगल राज बन्द गर, मापसे सरकार मुर्दावाद, नरसंघारबादी मुर्दाबाद, राजनेता केपी ओली जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद जस्ता नारा लागेको थियो ।

प्रदर्शनमा युवा नेताहरु रुपेश पटेल,निवेश यादव,मुन्ना कुमार यादव,मोहन मेहता ( बब्लु ), सौरभजीत सिंह ,बालाशंकर कुश्वहा लगायतले अगुवाईमा सयै कार्यकर्ता युवाहरु उपस्थित रहेकाथिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here