सर्लाही, २३ मंसिर ।। सर्लाहीकाे लालबन्दी नगरपालिका –१४, नारायण खोलामा १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको हो ।

नारायण खोला र आसपासका क्षेत्रको भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले जानकारी दिनुभयो ।

गाँजा खेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, सशस्त्र प्रहरी सुरक्षा बल लालबन्दी र इलाका प्रहरी कार्यालय लालबन्दीबाट एक सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फँडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरेक्षेत्रमा रहेकाे नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाखेती गर्दै आएका छन् ।

सर्लाहीको बाग्मती, हरिवन, लालबन्दी र इश्वरपुर नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रको डाँडाकाँडामा गाँजाखेती रोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here