रौतहट, २२ मंसिर ।। रौतहट जिल्लाको मध्यभाग गरुडा बाट पश्चिम पर्ने पुरानो चर्चित बजार कटहरिया स्थित गए राति तीन वटा पसलमा चोरी भएको छ । पसल बाट नगद र सामान सहित लाखौं बराबरको चोरी भएको छ । प्रहरी गस्ती टोलीले एक जना चोरलाई केही नगद र सामान सहित पक्राऊ गर्न सफल भएको छ ।

कटहरिया बजारको हनुमान मन्दिर छेउ इलाका प्रहरी कार्यालय बाट मात्र दुई सय मिटर टाढा शिवशङ्कर साह तेलीको गल्ला पसलको मूल गेटमा लगाइएको तीन वटा ताला फुटाइ बिहीबार मध्यरात चोर भित्र पसेका थिए । पसल भित्र रहेको पैसा राख्ने गल्ला (काठको बक्सा) बाट झन्डै एक लाख रुपैयाँ चोरी लगेको पीडितहरुले बताएका छन् ।

घटनाबारे आफूले आज बिहान मात्र थाहा पाउने बित्तिकै प्रहरी लाई खबर गरेको उनको भनाई छ। उता कटहरिया नगरपालिका भवन छेउ मूल सडकमा रहेको दुईवटा काठको गुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसलबाट नगद र विभिन्न सामान चोरी लागेका छन् ।

चोरले दिनेश प्रसाद जायसवाल र अवध प्रसाद जैसवालको गुम्ति फोडेर एक जनाको नगद १५ हजार, र अर्काको नगद ३५, हजार तथा विभिन्न सामान चोरी लागेको पीडितद्वयले बताएका छन्। चोरीको घटनाबारे उनीहरूले पनि आज बिहान मात्र थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

यसैबिच इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको गस्ती टोलीले गए राति करिब दुई बजेको समयमा चोरीको घटना भएको जैसवालको पसल छेउबाट भाग्दै गरेको अवस्थामा एक जना चोरलाई नगद र सामानसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका ५ कटहरियाका रामेश्वर राय यादव रहेको इलाका प्रहरी कार्यालयका प्रमुख सई रामछवेला यादवले बताए । भाग्दै गरेको अवस्थामा प्रहरीले लखेटेर पक्राउ गरेको आरोपी यादवको साथबाट करिब १५ हजार नगद र केही थान सेन्टको प्याकेट बरामद भएको सई यादवले जानकारी दिए ।

पक्राउ परेका आरोपी चोर रामेश्वर यादवलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको प्रहरीले जनाएको छ ।आरोपी रामेश्वर यादव यस अघि पनि चोरीकै घटनामा पक्राउ परेर कारागारदेखि सुधार केन्द्रमा समेत बसिसकेका व्यक्ति हुन् ।

उता परोहा नगरपालिका ३ तेजापाकाड गाउँका इस्लाम अन्सारीको घरमा गए राति हतियारधारी समूहले लुटपाट गरेका छन् । लुटेरा समूहले जानेबेला घर बाहिर आएर एक राउन्ड हवाई फायर समेत गरेको अन्सारीका छिमेकीले बताए ।

उक्त घटनाबारे विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here