मुगु, १० कार्तिक ।। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका -६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ। एकै परिवारका २८ वर्षीया श्रीदेवी बोहोरा, ७ महिने छोरा रहर, ८ वर्षीया छोरी छिता र ११ वर्षीय छोरा मनोजको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको हो। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

घरभित्र हत्या गरिएको अवस्थामा चारैजनाको शव दे‍खेपछि शुक्रबार बिहान ९ बजेतिर छिमेकीले प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या भएको खबर पाउन वित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार घटना दुई दिन अगाडि भएको हुनसक्ने अनुमान गरिएको छ । कार्त्तिक ८ गते बिहानदेखि सो घरमा ताला लगाएको थियो । लामो समयसम्म घरको ताला नखोलेपछि छिमेकीले शुक्रबार बिहान ९ बजेतिर ढोका खोलेर हेर्दा चारैजनाको विभत्सरुपले हत्या गरिएको अवस्थामा देखेका थिए ।

अहिले प्रहरीले घटना स्थललाई घेरा हाली अनुसन्धानको प्रक्रिया अगाडि बढाउँदैछ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लैजाने प्रहरीले जानकारी दिएको छ । हत्या गरिएकी महिलाले लगाएको गहना समेत चोरी भएको प्रहरीले बताएको छ । गहना निकालिएकाले धनमाल समेत चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

ती महिलाका श्रीमान् एक वर्षदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको छायानाथ रारानगरपालिका- ६ का वडा अध्यक्ष खेम रावलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here