काठमाडौं, १२ भदौ ।। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमत दिए जातीय राज्य स्थापित गर्छु भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बस्दै उनले प्रधानमन्त्रीले माओवादीलाई बहुमत दिए जातिय राज्य दिन्छु भनेर दिएको अभिव्यक्ति असंवैधानिक भएको दाबी गरेका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीले हाम्रो पार्टीलाई बहुमत दिनुस्, म यो देशमा जातिय स्थापित गराइ छाड्छु जस्ता अभिव्यक्ति निरन्तर दिँदै आउनुभएको छ । यो अभिव्यक्ति असंवैधानिक त छदैछ । सँगसँगै यो मुलुकमा मिलेर बसेको दाजुभाईहरुलाई आपसमा विद्वैष फैलाउने र मुलुकमा हिंसा भड्काउने देशमा अराजकता सिर्जना गराउने काममा स्वयम् प्रधानमन्त्रीले मलजल गरिरहेको भएको छ । हामी गम्भीर आपत्ति व्यक्त गर्न चाहन्छौं, यो भनाईको निन्दा गर्छौं ।
गिरीले सरकारको मुलुकमा सुशासन नारामा मात्र सीमित भएको टिप्पणी गरे । उनले सरकारले आफ्नालाई काखा र अरुलाई पाखा गरिरहेको दाबी गरे । उनले भने, ‘सरकारमा रहेका नेता तथा कार्यकर्तालाई छानबिनको दायरामा समेत ल्याइएको छैन । उन्मुक्ति दिइरहेको छ । सुन तस्करीमा संलग्न रहेका सत्ता पक्षलाई अनुसन्धान भएको छैन । सत्ता पक्ष भएपछि जस्तोसुकै अपराध र तस्करीमा संलग्न भएपनि छुट दिइरहेको र सामान्य नागरिकलाई जेल पठाउने गरी मुद्दा चलाइएको छ । यसरी सुशासन हुँदैन ।
प्रमुख सचेतक गिरीले सीआईबीको मनोबल सरकारले घटाउने काम गरिरहेको बताए । ललिता निवासमा अनौठो नाटक भइरहेको बताउँदै उनले संगठित अपराधमा मुद्दा नचलाई किर्तेमा मुद्दा चलाएकोप्रति आपत्ति जनाए ।
गिरीले प्रश्न गरे, ‘अदालतले छानबिन गरभन्दा ठूला नाइकेलाई मुद्दा चलाइँदैन । के मा लेनदेन भएको हो ? संगठित अपराध होइन, किर्तेमात्र भनेर मुद्दा चलाउने काम भइरहेको छ ? संगठित नभए किन ६० दिनको म्याद राखेर किन थुनिएको हो, अदालतबाट म्याद थप गरिएको हो ? ’
उनले भ्रष्टाचारको हरेक फाइल एक-एक गरेर इमान्दारितापूर्वक छानबिन गर्न माग गरे ।