न्युज डेस्क ११ भदौ ।। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई असफल बनाउन विभिन्न शक्तिकेन्द्रहरुद्वारा भइरहेको जालझेललाई मधेशी जनता सफल हुन नदिने बताएका छन् । संघीय संसद,राष्ट्रिय सभाद्वारा आयोजित संघीय शासन प्रणाली सबलीकरण बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले मधेशी जनताको ठूलो बलिदानी बाट आएको संघीयतालाई असफल तुल्याउन विभिन्न षडयन्त्रहरु भइ रहे पनि त्यो असफल हुने दाबी गरे ।

संघीयताको असफल बनाउनकै लागि संविधानले स्पष्ट गरेको अधिकारहरुमा पनि कटौती गर्ने, साढे दुई वर्ष अघि नै पास भइसकेको प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गर्नु जस्ता प्रपंचहरु भइरहेपनि आफूहरु त्यो सफल हुन नदिने बताए । देशमा संबैधानिक संघीयता आएपनि व्यवहारमा अझै पनि केन्द्रीकृत मानसिकताले संघीयता संस्थागत हुन कठिनाई भइ रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता मानसिकता आफै परास्त हुने दाबी समेत गरे ।

संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन समितिका संयोजक खिमलाल देवकोटाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना , राष्ट्रियसभाका पूर्व उपाध्यक्ष शशिकला दाहाल, प्रदेशका सभामुख सरोजकुमार यादव, लगायत राष्ट्रिय सभाका सदस्यहरु, प्रदेशका मन्त्रीहरु , प्रदेशसभाका सदस्यहरु , स्थानीय सरकारका प्रतिनिधिहरु ,प्रदेश मन्त्रालयका सचिवहरु , आठ ओटै प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संस्थाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here