
काठमाडौं ३० असार ।। नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारले प्रतिनिधिमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक सच्याउन आग्रह गरेका छन् । विधेयकमा राखिएको आमाको नामबाट नागरिकता पाउने मुल कानुनमा भएको व्यवस्था भन्दापनि संकुचित रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने–‘बाबु पत्ता नलागेको आमाको सन्तानबारे जुन मुल ऐनको दफा ८ संसोधन छ, यसमा अलि ध्यान पुगेको छैन । बाबुको पुष्टाइँ गर्नुपर्ने व्यवस्थाले आमालाई झन्झट भयो भनेर त्यसलाई हटाउन खोजिरहेका बेला झन् अहिले त निज र निजको आमाले गरेको स्वघोषणाको आधारमा भन्दा त एकल आमाका सन्तानले नागरिकता पाउँदैनन् । झन् ठूलो अप्ठेरोमा पर्छ । त्यसकारण यसलाई सच्याइनुपर्छ ।
आमाले गरेको स्वघोषणाका आधारमा बाबु पत्ता नलागेकालाई नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताए । निजले, निजको छोराछोरीले स्वघोषणा गर्नुपर्ने भनेर अप्ठेरो पार्न नहुने उनको भनाइ छ । उनले भने–‘महिलाले विदेशी पुरुषसँग बिहे गरेको छ उसले आफ्ना सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन्न भन्यो त्यस्तो अवस्थामा के गर्ने ? त्यसको बारेमा पनि यो विधेयकले बोल्दैन । लैङ्गिक समानताको आधारमा पनि व्यवस्था हुन आवश्यक छ ।
उनले बैबाहिक अंगीकृतको बिषयमा राजा वीरेन्द्रको पालादेखि २०७२ सालसम्म एउटै व्यवस्था रहेको बताए । सांसद थापाले संविधान बनाउने बेलादेखि लामो समय कानुन बनाउन नसक्दा लाखौँ मानिसहरु नागरिकता पाउनबाट बञ्चित रहेको उल्लेख गरे ।
उनले भने–‘यो सुल्टो बाटोबाट आउनुपथ्र्यो, समितिमा पनि त्यति धेरै छलफल भयो, त्यही बाटो आएको भए उपयुक्त हुन्थ्यो । सहमति चाहेजस्तो बन्न नसकेको हुँदा यो बाटो आयो होला भन्ने ठान्छु । हामीले सहमति गर्न नसकेको मूल्य ति नागरिकहरुले चुकाउनु परिरहेको छ । यहाँबाट यो बिधेयक पास भएपछि उनीहरुले नागरिकता पाउँछन् ।
जसले जन्म सिद्धका आधारमा नागरिकता पाइसकेकाहरुका सन्तानले वंशजको नागरिकता पाउने उनको भनाइ छ । गैर आवासीय नेपालीलाई नागरिकता दिने कुरापनि सकारात्मक रहेको थापाले बताए ।