पुस १४ रौतहट ।। सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनको नाममा (बुधबार) प्रदेश २ को ६ वटा जिल्लामा चक्काजामको घोषणा गरेको अनुरुप आज ६ वटै जिल्लामा चक्काजाम गरेको छ । चक्काजामको क्रममा रौतहट बन्दलाई बेवास्ता गरी सवारी चलाएको भन्दै पार्टी कार्यकर्ताले जिल्लाको मध्ये भागमा रहेको गरुडा बजारमा सवारी तोडफोड गरेका छन् । सवारी साधनलाई तोडफोड गर्ने क्रममा चालकलाई समेत क्षति पुगेकोले पार्टीका ७ जना कार्यकर्तालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्रीराम भन्डारीले जनाकारी दिनुभयाे । हालसम्म जनमत पार्टीका १२ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराउनुभएकाे थियाे । घोषणा गरेको रौतहट बन्दको प्रभाव आंशिक रुपमा देखिएको थियो ।

किसानहरुको समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै पार्टीले मधेशका जिल्लाहरुमा आन्दोलन गरिरहेको छ । राज्यले किसानका जायज मागहरुलाई वेवास्ता गरेको भन्दै सिरहामा शुरु भएको किसान आन्दोलन प्रति एक्यवद्धता जनाएर किसानका माग पूरा गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

बुधवार बिहान गौरमा प्रदर्शनमा उत्रेका ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौर र गरुडा गरी कुल १२ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल मल्लले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here