बर्दिया, २१ भदौ ।। बर्दियामा गैंडाको आक्रमणबाट एक जना टुरिस्ट गाइडको ज्यान गएको छ । एक जना विदेशी पर्यटक घाइते भएका मधुवन नगरपालिका वडा नम्बर–१ का अध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गतको बीचमा पर्ने मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडा अवलोकनका क्रममा आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको ज्यान गएको हो । गैंडाको आक्रमणबाट ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोन घाइते भएका निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताउनुभयो ।

शिव सामुदायिक वनका वन हेरालु थेङ्चु थारुसहित टुरिस्ट गाइड मनमोहन चौधरी र विदेशी पर्यटक गैंडा अवलोकनका लागि आज बिहान सामुदायिक वनभित्र गएका बेला ८ बजेतिर आक्रमण गरेको वडाध्यक्ष थापाले बताउनुभयो । गैंडा अवलोकनका क्रममा विदेशी पर्यटकलाई आक्रमण गरेपछि घाइते अवस्थामा रहेका उहाँलाई बचाउन खोज्दा टुरिस्ट गाइड चौधरीलाई गैंडाले आक्रमण गरेको र लगत्तै ज्यान गएको प्रहरीले जनाएको छ ।

गैंडाको आक्रमणबाट घाइते भएका विदेशी पर्यटकको खुट्टामा चोट लागेको छ । घाइते पर्यटकलाई उपचारका लागि नेपालगञ्ज पठाइएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी दोर्णराज शर्माले जानकारी दिनुभयो । सामुदायिक वनका वन हेरालु सकुशल रहेका उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here