रौतहट, २१ भदौ ।। रौतहटको गौर कारागारमा चौकीदार बनाइदिन्छु भनेर लाखौं रकम उठाएका एक व्यक्तिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयसँग समेत त्यसविषयमा पटक-पटक संवाद गरेको तथ्य फेला परेको छ ।

गौर कारागारमा कैद जीवन बिताएर बाहिर आएका राजेश गिरीले त्यही कारागारमा रहेका कैदी मनोजकुमार चौधरीलाई चौकीदार बनाइदिन्छु भनेर १४ लाख १५ हजार रुपैयाँ बुझेका थिए । आफूलाई नेकपा (माओवादी केन्द्र)को सदस्य बताउने उनले यस विषयमा तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लसँग सम्वाद गरेको खुलेको छ । गिरीले मल्ललाई ह्वाट्सएपमा लेखेका छन्, ‘कमरेड लालसलाम ! आराम सञ्चै हुनुहुन्छ ? एकचोटी समय निकालेर रौतहटको सीडीओलाई फोन गर्दिएहुन्थ्यो, चौकीदारमा मनोज चौधरीलाई सिफारिश गरिदिनका लागि । त्यसपछि मल्लले तत्कालीन प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुलीको नम्बर ९८५६०२७३३५ दिएका छन् ।

उक्त नम्बर पाएपछि गिरीले मल्ललाई पुनः लेखेका छन्, ‘हिजो बेलुका देवेन्द्र पराजुलीको नम्बरबाट यो एसएमएस आएको थियो- यहाँ त हाम्रो केन्द्रीय सदस्य होइन र कमरेड । एकचोटी रौतहटका सीडीओलाई कहीँ कतैबाट भनसुन गराएको भए हुन्थ्यो, कि हजुरले नै भन्या भए हुन्थ्यो होला ।

यस विषयमा गिरीसँग पटक-पटक संवाद भएको मल्लले स्वीकारेका छन् । राजेश गिरी पार्टीको मान्छे हो, पार्टीनिकट हो भनेर दिनका दिन बालुवाटार आइरहन्थ्यो । गेटमा कुराएर राख्ने कुरा भएन, प्रेसलाई एक्सेस हुने ठाउँसम्म एक्सेस पाउने गरेको थियो,’ मल्लले भने, ‘गौर कारागारमा चौकीदार परिवर्तन गर्नुपर्‍यो, आफूले सिफारिश गरेको मान्छेलाई चौकीदार बनाइदिनुपर्‍यो भनेर दिनहुँ बालुवाटार आउने गरेको सत्य नै हो ।

उनले थपे, ‘त्यसपछि राजेश गिरी कस्तो मान्छे हो भनेर रौतहटका प्रदेश सांसद युवराज भट्टराईसँग बुझ्दा यो लफडावाला मान्छे हो भनेपछि मैले इन्टरटेन गरिनँ ।

गिरीले पटक-पटक फोन र एसएमएस गरेको उनले स्वीकारे ।

‘पार्टीको मान्छे भनेपछि शुरूमा जनसम्पर्क सल्लाहकार देवेन्द्र दाइको नम्बर दिएको हो,’ मल्लले थपे, ‘मेरो इमानमाथि कुनै पनि प्रश्न उठेको पुष्टि भए जस्तोसुकै कानूनी कारबाही भोग्न तयार छु । टुँडिखेलमा झुन्डिन पनि तयार छु ।

गिरीले मोबाइलमा पठाएका म्यासेज पनि आफूसँग रेकर्डमा सुरक्षित रहेको उनले खुलाए ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुलीले जनसम्पर्क सल्लाहकारको हैसियतमा उनीसँग कुराकानी भएको हुन सक्ने बताए ।

‘त्यो राजेश गिरी भन्ने मान्छे को हो म चिन्दिनँ । तर, जनसम्पर्क सल्लाहकारको हैसियतले काम गर्दा थुप्रै मान्छे दिनहुँ भेट्न आउने गरेका थिए, सोही क्रममा भेटेको हुनसक्छु,’ पराजुलीले भने, ‘कोही चौकीदार फेर्नुपर्छ भनेर आउँथे, कोही मठमन्दिरका महन्थ नै फेर्नुपर्छ भनेर आउँथे । कति आए । आएपछि कुरा सुन्नुपर्‍यो । कुरा सुन्ने मात्र गरेको हो । त्यस्तो गलत काम गरेको छैन ।

गिरीले गृहमन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई समेत म्यासेज गरेको खुलेको छ ।

केदार गृहसचिव भनेर सेभ गरिएको नम्बरमा उनले म्यासेज गरेका छन् ।

जबकि केदार नामका गृहसचिव तत्कालीन समयमा थिएनन् । तर, केदारनाथ शर्मा गृह मन्त्रालयमा कर्मचारी प्रशासन महाशाखा प्रमुख थिए । उनले गरेको म्यासेज केदारनाथ शर्मालाई नै हो कि होइन भन्नेचाहिँ यकिन भएको छैन ।

‘आदरणीय सचिवज्यू,निवेदन यो छ कि केही दिन पहिला हाम्रो गौर कारागारको सम्बन्धमा कुरो भएको थियो,कोही नयाँ अधिकृत हाकिम पठाइदिनका लागि । तर, कारणवश अहिलेसम्म हामीले पाएनौं । खास कुरो के हो ? यहाँको अवस्था बुझ्दा भित्रको वातावरण महताव आलमले आफ्नो चौकीदार बनाई लुटतन्त्रको साम्राज्य विस्तार गरेका छन् । महताब आलमले भित्रका सबै पसल तथा रासनमा सेयर पूँजी हालेको बुझिएको छ ।

हामीले केहीदिन पहिला संखुवासभा कारागारको खबर सुनेका थियौं । यहाँ पनि त्यस्तो नहोला भन्न सकिने अवस्था रहेन । त्यसैले मनिभूषण शाह र शम्भु यादव सरुवा भएलगत्तै केही कैदी सरुवा गर्न आवश्यक रहेको बुझिन्छ । चौकीदार मनोज बैठा, कामेश्वर पटेल, महताब आलम र ब्रजेश मिश्राको सरुवा गर्नु आवश्यक छ । नयाँ चौकीदारका लागि मनोज चौधरी लाई उपयुक्त होला । कारागारबस्नुभन्दा अगाडि चौधरी हाम्रै संगठनको हुनुहुन्थ्यो ।

उहाँ शिक्षित व्यक्ति,सरकारी टिचिङ जब गर्नुहुन्थ्यो । अहिले पनि सबल र इमान्दारीपूर्वक उहाँले कारागार जीवन बिताइराख्नुभएको छ । यस विषयमा मैले कमरेड रमेश मल्ल दाजुलाई पनि भनेको छु । महताब मान्छेलाई जिउँदै इँटाभट्टामा पोलेर मारेको अभियोगमा कैद सजाय काटिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आफ्ताब आलमका सहोदर भाइ हुन् ।

भएको के हो ?

सर्लाहीको कविलासी नगरपालिका भलुवाहास्थित प्राथमिक विद्यालयका शिक्षक मनोजकुमार चौधरीलाई सर्लाही जिल्ला अदालतले बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय सुनाएको थियो ।

चौधरी सर्लाहीको मलंगवा नगरपालिका- ११ का बासिन्दा हुन् । उक्त कसूरमा दोषी ठहर भएका चौधरी २०७५ चैत १९ गते गौर कारागार चलान भएका थिए ।

कारागारमा चौधरी र बहुविवाह मुद्दामा कैद सजाय पाएका राजेश गिरीबीच सम्पर्क भयो । गिरी रौतहटको माधवनारायाण नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।

कैद सजाय काटेर बाहिरिएका गिरीले चौधरीलाई चौकीदार बनाइदिने भनेर उनकी श्रीमतीसँग २५ लाख रुपैयाँमा डिल गरेका थिए ।

चौकीदार बन्यो भने महिनाको ७ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ, त्यसका लागि २५ लाख रुपैयाँ दिनुपर्छ भनेर गिरीले चौधरीकी श्रीमती मनिताकुमारी देवीसँग डिल गरेका थिए ।

‘महिनाको १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ । चौकीदार बन्यो भने कैद सजाय माफीमिनाहा हुन्छ । बाहिर आउन पनि सजिलो हुन्छ भनेर २५ लाख रुपैयाँ दिनुपर्छ भनी राजेश गिरीले मलाई प्रस्ताव गरेको थियो,’ मनिताले लोकान्तरसँग भनिन्, ‘चौकीदार बन्नका लागि कम्तीमा आधा कैद काटेको हुनुपर्छ भन्ने मलाई थाहा थियो । त्यतिबेलासम्म मेरो श्रीमानले साढे ३ वर्ष जति मात्र कैद काटेका थिए । आधा कैद काटेकै छैन, कसरी चौकीदार हुन्छ भन्ने प्रश्न गर्दा उसले पैसाले सबै कुरा हुन्छ भनेको थियो ।

अहिले आधा रकम र चौकीदार बनिसकेपछि महिनाको एक/एक लाख दिए हुन्छ भनेर आफूलाई प्रस्ताव गरिएको उनले बताइन् । त्यसपछि आफूले गिरी र उनका साथी मुकेशकुमार यादवलाई १४ लाख १५ हजार रुपैयाँ दिएको उनले खुलाइन् । मलंगवामा हामीले सञ्चालन गरेको बोर्डिङ स्कूल बेचेर आएको पैसा थियो । बाँकी दिदीभिनाजुसहितका आफन्तसँग मागेर उनीहरूको बैंक खातामा विभिन्न मितिमा पटक-पटक गरी कुल १४ लाख १५ हजार रुपैयाँ बुझाएकी थिएँ,’ उनले थपिन्, ‘पैसा बुझाएर पनि काम नहुँदा राजेशले कहिले प्रधानमन्त्रीसँग कुरा गर्दैछु, कहिले प्रधानमन्त्रीको पीएसँग कुरा भयो, आजभोलिमै काम हुन्छ भनेर जवाफ दिनेगर्थ्यो ।

कुनै दिन गृहसचिवसँग कुरा भयो, कुनै दिन सीडीओ अफिसबाट फाइल आइसक्यो, कुनै दिन जेलरसँग कुरा गर्दैछु, कुनै दिन कारागार व्यवस्थापन विभागको डीजीसँग कुरा गरेको छु भनेर टारेको उनले बताइन् ।

पैसा दिएर पनि चौधरी चौकीदार बन्न त पाएनन् नै, उल्टै यातना पाएर सरुवा हुन बाध्य भए ।

‘चौकीदार फेर्न खोज्दैछ भन्ने कुरा गौर कारागारका चौकीदार मनोज बैठाले पनि थाहा पाए । त्यसपछि बैठाले मेरो श्रीमानलाई टर्चर दिने, थर्काउने काम गर्न थाले,’ उनले थपिन्, ‘त्यहाँको जेलरलाई उक्त कुरा भन्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर २०८० चैत ६ गते मलंगवा कारागार सरुवा गराएँ ।

राजेश गिरीसँग पटक–पटक पैसा फिर्ता माग्दा पनि नदिएपछि २०८१ साउन ४ गते गिरी र मुकेश यादवविरुद्ध जाहेरी दर्ता गराएको उनले खुलाइन् ।

‘पटक–पटक जाहेरी लिएर जाँदा यो रौतहटको मुद्दा भनेर प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन,’ उनले थपिन्, ‘एक महिनासम्म लगातार धाएपछि जसोतसो प्रहरीले जाहेरी त दर्ता गर्‍यो, तर अनुसन्धान गरेको छैन ।
आफ्नो श्रीमानको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यो कुरा बाहिर आउँदा मुद्दामा असर पर्ला कि भनेर १ वर्षदेखि सहँदै आएको उनको गुनासो छ ।

गिरी र यादवलाई पटक–पटक रकम बुझाएको बैंक खाताको विवरण तथा भौचर समेत उनले उजुरीमा संलग्न गरेकी छन् । यस विषयमा जाहेरीमा उल्लेख भएको मोबाइल नम्बरमा गिरी र यादवसँग सम्पर्क गर्न खोज्दा स्विच अफ रहेको पाइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here