काठमाण्डाै, २५ जेठ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी क्षेत्रमा देखिएका समस्याको सम्बोधन गर्न सरकारले नीतिगत र व्यावहारिक समाधानका विभिन्न उपाय अवलम्बन गर्दै आइरहेको बताउनुभएको छ ।

सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज काठमाण्डौमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारीको आधारभूत सिद्धान्त पालना नहुँदा, कोभिड महामारी तथा अरू विभिन्न कारणले सहकारीले सङ्कटको सामना गर्नुपरेको बताउनुभयो । उहाँले सरकारले बचत तथा ऋण सहकारीलाई एकआपसमा गाभिन सहजीकरण गर्ने र बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाउने लगायतका व्यवस्था बजेटमा पनि समेटेको जानकारी दिनुभयो ।

सङ्कटग्रस्त एवम् समस्याग्रस्त सहकारीको अवस्था, बचतकर्ताको निक्षेप अपचलन भए/नभएको अध्ययन, दोषीमाथि कारबाहीको सिफारिस र समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न अधिकार सम्पन्न संसदीय समिति गठन गरिएको भन्दै प्रचण्डले समितिले सहकारी क्षेत्रको समस्यालाई दीर्घकालीन समाधानमा आवश्यक सुझाव पनि प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here