काठमाण्डौ, १८ बैशाख ।। दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ । सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलनभन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह–आयोजकको रूपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ ।

तेस्रो लगानी सम्मेलनमा झन्डै नाै अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृतसमेत भएको छ । निजी क्षेत्रले नेपालमा अब लगानीको ठूलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको भन्दै अब देशको आर्थिक गतिविधि चलायमान बनाउनसमेत सहयोग पुग्ने वातावरण बन्ने अपेक्षा गरेको छ ।

सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रले माग गरेअनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनहरू संशोधनसमेत गरेकाले थप आशा जागेको उनीहरूको भनाइ छ । सरकारले लगानी सम्मेलनमा आएका प्रतिबद्धतालाई सदुपयोग गर्नेगरी आउने दिनमा काम गर्नुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सह–आयोजक बनाएर गरेको लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले दिएका सबै सुझावका आधारमा कानुनहरूलाई संशोधन गरेकाले लगानीको प्रतिबद्धता जनाउन लगानीकर्तालाई सहज भएको बताउनुभयो । सरकारको मात्रै नभएर सरकारबाहिरका राजनीतिक दलहरूको समेत आर्थिक एजेन्डा र लगानी बढाउने कुराहरूमा एक ठाउँमा उभिएकाले सम्मेलन सफल भएको अध्यक्ष ढकालकाे भनाइ छ ।

यस्तै महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले नेपालमा भएका स्रोतहरूलाई लगानीमा परिणत गर्न सक्नुपर्ने भन्दै ठूला पूर्वाधारमा लगानीको आवश्यकता देखिएको र विदेशी लगानीकर्ताको चासो पनि त्यसैमा रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here