काठमाण्डौ, १८ बैशाख ।। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले पाएका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहयोग अपरिहार्य भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७ औँ बैठकमा भाग लिने क्रममा उहाँ अमेरिकामा हुनुहुन्छ ।

यही शिलशिलामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण रहेको भन्दै नेपालका लागि राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिनुभएको हो ।

उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्र सङ्घको बडापत्र एवम् सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको र देशको सामाजिक–आर्थिक विकासमा राष्ट्र सङ्घले गरेको योगदानको सराहना गर्नुभएको न्युयोर्कमा रहेको संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गर्नुभयो । उहाँले मानव अधिकार, विश्व शान्ति र सुरक्षा एवम् दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्र सङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने देशहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा पनि गर्नुभयो । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्र सङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here