ताप्लेजुङ, ०६ बैशाख ।। ताप्लेजुङ विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । ताप्लेजुङमा रहेको मुख्य नदी तमोरमा मात्रै १६ वटा आयोजना निर्माणाधीन रहेका छन् । विद्युत् विभागकाअनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ ।
मिक्वाखोला गाउँपालिकाको मेवाखोला र काबेली खोलामा चार/चार मेवाखोलामा निर्माण भइरहेका छन । जसमध्ये मेवाखोला आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट र काबेली खोला आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।
यसैगरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।