काठमाण्डौ, २९ चैत ।। नयाँ शैक्षिक सत्रका लागि आउँदो वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि पालिका र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

अभियानको पहिलो दिन वैशाख २ गते सबै पालिकाका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले बताउनुभयो । सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते पालिकाको निर्देशनअनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ ।

वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ । अभियानकै क्रममा वैशाख १० गते यो दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ ।

वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका धेरैजसाे विद्यालयले भने वैशाखको पहिलो हप्तादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया शुरु गरिसकेका छन् ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नारा रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराई शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट २०७९’ अनुसार पूर्वप्राथमिक तहको कुल भर्नादर ९४ दशमलव ९ प्रतिशत छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन ।

यसैबीच नयाँ शैक्षिक सत्र शुरु हुनु तीन दिनअघि नै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिक सत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्‍याइएको बताउनुभयो ।

केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीमा रहेकाे केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिक सत्रमा पनि समयमा नै किताब पुर्‍याएको थियो ।

प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिक सत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री शुरु गरेको थियो । केन्द्रले चाैबीसै घण्टा पुस्तक छापेको थियो ।

कुनै कारणवश पाठ्यपुस्तक कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिने केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here