काठमाण्डौ, ०१ फागुन ।। ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेस्टिवलका कारण चितवनको सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेस्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि व्यवसायी समेत उत्साहित भएका छन् ।

देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहामा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना महामारीलगायत कारण पर्यटन क्षेत्र केही सुस्ताएको थियो । विगतको तुलनामा पछिल्लो समय पर्यटकीय गतिविधि र पर्यटक बढ्न थालेका छन् ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा अहिले फुड फेस्टिवल चलिरहेको छ । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताउनुभयो ।

रेवान सौराहाका अध्यक्ष धुव्र गिरीका अनुसार यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकको चाप देख्दा उत्साह बढेको छ । अर्थतन्त्रको समस्याले आन्तरिक पर्यटकको सङ्ख्या कम हुन्छ कि भने चिन्ता रहेका बेलामा सौराहाका पर्यटन व्यवसायीलाई फुड फेष्टिवलसँगै बढेको पर्यटकीय चलहपहलले निकै उत्साहित बनाएको उहाँको भनाइ छ । सौराहामा साना–ठूला गरी एक सय ४० भन्दा धेरै होटल छन् । फुड फेस्टिवल पर्सि फागुन ३ गतेसम्म चल्नेछ । भोलि प्रणय दिवस मनाइँंदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here