कास्की, ११ माघ ।। क्यानडा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने दुई विदेशीसहित छ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । क्यानडा लैजाने प्रलोभन देखाएर हिजो पोखरा महानगरपालिका–१० बुद्धचोकमा रहेको एक होटलमा अन्तर्वार्ताका लागि बोलाएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पोखरा–१३ पाटनबेसीकी ६५ वर्षीया पार्वती सुनारले ‘मेरो छोरी क्यानडामा छ, सिधै भिसा निकालेर राम्रो काममा लगाइदिन्छे’ भनी विभिन्न व्यक्तिहरूसँग पैसा उठाएर अन्तर्वार्ताका लागि बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रवणकुमार विकले बताउनुभयो ।

पक्राउ पर्नेमा पार्वतीसँगै पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ की सीमा सुनार, काठमाण्डौको कलङ्की बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् । यस्तै क्यानडाको अलबर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राजेश जैसवाल र भारतको मध्य प्रदेशका ३२ वर्षीय इस्मित कौर पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरूले क्यानडा जान प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र त्यो रकम अन्तर्वार्ता पास भएपछि दिनुपर्ने बताएका थिए । उनीहरूले अन्तर्वार्ताका लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ लिएको कास्की प्रहरीका प्रवक्ता विकले बताउनुभयो । पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here