दोलखा, ०१ माघ ।। दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खम पहिरो खसेको थियो ।

लामाबगरबाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर बिगु गाउँपालिका वडा नम्बर–१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोमा पुरिएर सोही स्थान बस्ने ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएका छन् ।

लामावगर– लप्चि सडक खन्ने क्रममा देउराली भन्ने स्थानमा दिउँसो करिब ३ बजे नासा हाइड्रो पावरमा कार्यरत उनीहरु माथि पहिरो खसेको हो । सडक खन्ने क्रममा सडकको माथिल्लो भागबाट सुख्खा पहिरो खसेको र उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुख्खा पहिरोका कारण घटनास्थलतर्फ जाने सडक र बाटो अवरुद्ध भएको थियो । मौसम प्रतिकुलताका कारण हेलिकोप्टर समेत जान नसक्दा घाइतेको उद्धारमा कठिनाई भएको छ । घटनास्थल चीनसँग सिमाना जोडिएको दुर्गम क्षेत्रमा भएको र सडक तथा बाटोको पहुँच नभएका कारण अहिलेसम्म घाइतेको उद्धार हुन सकेको छैन । यद्यपि नेपाली सेनाको हेलिकप्टरबाट घाइतेको उद्धारको तयारी भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here