रौतहट, २६ पुस ।। रौतहट जिल्लाको उतरी भेगमा पर्ने हाकिम विहिन रहेको वृन्दावन नगरपालिकाले लामो समयपछि प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । लामो समयदेखी कार्यालय प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको वृन्दावन न पा को प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रन्जय पटेलले पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी शाखा अधिकृत पटेललाई दिएको छ ।

रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी पटेललाई सामान्य प्रशासन मन्त्रालयले विहिवार वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो । जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका नेताहरुबीचको वाद विवादका कारण विगत ६ महिनादेखी वृन्दावन नगरपालिका हाकिम अर्थात प्रशासकीय अधिकृत विहिन रहदै आएको छ ।

लामो समयदेखी हाकिम नै नहुँदा सो पालिकाका आर्थिक सम्बन्धि सम्पूर्ण कामकाज ठप्प रहेको छ । हाकिमको अभावमा सर्वसाधारण नागरिकको समेत विभिन्न कामकाज प्रभावित हुनुका साथै विकास निर्माणका कामहरु समेत ठप्प हुँदै आएको छ । दुई महिना अघि मन्त्रालयले वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव सुरेन्द्र प्रधानलाई दिएको थियो तर प्रधान सो पालिकामा एकसाता समेत टिकन सकेका थिएनन् ।

आफना असहमतिका बावजुद मन्त्रालयले बलजबरजस्ती प्रधानलाई पठाएको भन्दै नगर प्रमुख विनोद प्रसाद कुर्मीले उनलाई स्वीकार नगरेपछि प्रधान सो पालिका छाडेर अन्यत्र गएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले लगाएत दलका नेताहरुले प्रधानलाई राख्नुपर्ने पक्षमा थिए भने नेकपा एकिकृत समाजवादीबाट मेयरमा निर्वाचित कुर्मिले प्रधानलाई कुनै हालतमा नराख्ने अडान लिएका थिए ।

नेकपा एसबाट नै उपमेयरमा निर्वाचित संगीता देवी राम सहितका केहि जनप्रतिनिधिहरुले पनि प्रधानकै पक्षमा उभिएका थिए । राजनीतिक दलका नेता र जनप्रतिनिधबीच कुरा नमिल्दा त्यहाँ काम गर्ने वातावरण नभएको भन्दै प्रधान वृन्दावनबाट फिर्ता भएका थिए । मेयर कुर्मीले राख्न नमानेपछि उपसचिव प्रधान वृन्दावनबाट एकसातामै सरुवा भइ फतुवा विजयपुर नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।

वृन्दावनबाट प्रधान सरुवा भएदेखी हालसम्म अर्को प्रशासकीय अधिकृत नआउँदा नगरका विभिन्न कामकाज प्रभावित हुँदै आएको अवस्थामा मन्त्रालयले अर्को कार्यालय प्रमुखको रुपमा शाखा अधिकृत रन्जय पटेललाई जिम्मेवारी दिएर पठाएको छ । वृन्दावनको प्रशासकीय अधिकृतको जिम्मेवारी पटेलले पाएपनि उनी अब कुन दिन नगरपालिकामा हाजिर हुने भन्ने कुरा थाहा हुन सकेको छैन । पटेल कार्यालयमा हाजिर भइ कार्यभार सम्हालेपछि वृन्दावनमा हाकिमको अभावमा अवरुद्ध सबै सेवा एवं विकास निर्माण लगाएतका कार्य सुचारु हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here