एजेन्सी, १८ पुस ।। जापानको राजधानी टोकियोमा रहेको हानेदा विमानस्थलमा हिजो मङ्गलवार भएको दुर्घटनाबारे अनुसन्धान शुरु भएको छ । जापानको तटरक्षक विमान र जापान एअरलाइन्सको यात्रुवाहक विमान ठोकिएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेकाे जापान यातायात सुरक्षा बोर्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

दुर्घटनामा पाँच जनाको ज्यान जानुको साथै तीन सय वटाभन्दा धेरै उडान रद्द भएका थिए । सुरक्षा बोर्डले आज बुधवार दिउँसो विमानको भग्नावशेषको जाँच गरेर अनुसन्धान थालेको छ । तटरक्षकको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू भेटाएको र जापान एअरलाइन्सको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू खोजी गरिरहेको बोर्डले जनाएको छ ।

एअर ट्राफिक कन्ट्रोलरले दुर्घटना हुनुअघि यात्रुवाहक विमानलाई धावनमार्गमा अवतरण गर्न अनुमति दिएर तटरक्षकको विमानलाई छोटो समयका लागि धावनमार्गमा पर्खिन निर्देशन दिएका जापानी सञ्चारमाध्यमले जनाएको छ ।

आज तीन वटा धावनमार्ग खुला गरिए पनि दिनभरि झन्डै एक सय वटा उडान बन्द हुने अनुमान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here