काठमाण्डाै, १० कार्तिक ।। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउनेमध्ये ८० प्रतिशत बिरामीको अप्रेशन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले अस्पतालमा दैनिक झन्डै पाँच सय जना बिरामी आउने गरेकाे र त्यसमध्ये ८० प्रतिशतको अप्रेशन गर्नुपर्ने जानकारी दिनुभयो । अहिले अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेशन हुँदै आएको छ । डा. रिजालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव भएको गुनासाे गर्नुभयाे । दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको उहाँकाे भनाइ छ ।

अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुने गरी व्यवस्थापन गरिएको डा. रिजालले जानकारी दिनुभयो । उहाँले अहिले अस्पतालबाट अनलाइन टिकट लिने व्यवस्था मिलाइएको र बिहान ८ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको बताउनुभयो ।

ट्रमा सेन्टरका निर्देशक डा. रिजाल

उहाँले भन्नुभयो, ‘अस्पतालमा दैनिक चार सय ५० देखि पाँच सय जनाकाे हाराहारीमा बिरामी आउँछन् । अस्पतालमा आउनेमध्ये ८० प्रतिशत बिरामीकाे अप्रेशन गर्नुपर्ने हुन्छ । दिनमा २५ देखि ३० जनाकाे अप्रेशन हुन्छ । अहिले लगभग सबैजसो औषधि उपलब्ध हुने गरी व्यवस्थापन गरिएको छ । बिरामीकाे चाप बढेका कारण अहिले दुई सय १८ शय्या सञ्चालन गरिरहेका छाैँ । सरकारी दरबन्दीले नपुगेर आन्तरिक स्रोतबाट कर्मचारी राखेर काम गर्नुपरेकाे छ । अहिले हामी छ सय जना कर्मचारी छौँ । तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी छ भने अरू आन्तरिक स्रोतबाट हो । जनशक्ति बढाउनका लागि स्वास्थ्य मन्त्रालयसँग कुरा गरिरहेका छाैँ । मन्त्रालय यसमा सकारात्मक नै छ ।’

डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको ‘रिहाब सेन्टर’ सरकारी रूपबाट नहुँदा बिरामी मर्कामा परेका बताउनुभयो । उहाँले ‘रिहाब सेन्टर’ सरकारी रूपमा नहुँदा बिरामीलाई निजीमा पठाउन बाध्य भएको भन्दै त्यसका लागि ‘लबिङ’ गरिरहेको बताउनुभयो । उहाँले ट्रमा सेन्टरमा एमआरआई मेशिन नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने र महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

बिरामीलाई छिटो छरितो सेवा प्रवाह गर्नेतर्फ अस्पताल तल्लिन रहेको निर्देशक डा. रिजालले उल्लेख गर्नुभयाे । कुनै पनि बिरामी उपचार पाएर दुई हप्ताभित्र जसरी पनि फर्किने गरेको उहाँकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here