काठमाडौं, २९ भदौ ।। परराष्ट्र सचिव भरतराज पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ । अमेरिका उड्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न शुक्रबार विहान बालुवाटार पुगेका चिनियाँ राजदूत छन् सोङ आज दिउँसो परराष्ट्र सचिव पौड्यालसँग भेट गरेका हुन् ।

सचिव पौडेललाई भेट्न राजदूत सोङ सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए । सचिव पौडेलसमेत शनिबार साँझ प्रधानमन्त्री दाहालसँग अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सचिव पौड्याल र राजदूत सोङबीच प्रधानमन्त्रीको चीन भ्रमणका बेला हुने विषयबस्तुको बारेमा छलफल भएको थियो । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणका बेला उठान हुने विषयबस्तुको टुंगो लगाउन अन्तिम प्रयास गरिरहेको छ ।

ऋणमै बिआरआई परियोजनामा हस्ताक्षर गर्ने प्रधानमन्त्री दाहालले तयारी गरेपछि यसको प्राविधिक पक्षबारे छलफल गर्न राजदूत सोङ विहानदेखि सक्रिय भएका छन् । केही दिनअघि नेपाल-भारतको सम्बन्धलाई लिएर दिएको अभिव्यक्ति विवादित बनेपछि चिनियाँ राजदूत आलोचित बनेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सो अभिव्यक्तिबारे चिनियाँ राजदूतलाई सोधेका थिए ।

संसद र त्यसको समितिमा उनले दिएको अभिव्यक्तिबारे प्रश्न उठेपछि केही दिनअघि परराष्ट्रसचिव पौडेलले राजदूत सोङलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेका थिए । यद्यपि परराष्ट्र मन्त्रालयले उनलाई लिखित प्रस्टीकरणचाहिँ नसोधेको स्रोतले बताएको छ । सचिव पौडेलसँग राजदूत सोङले आफूले बोलेको कुरा यति विवादमा आउला र ती कुराहरू सार्वजनिक हुन्छ भनेर नसोचेको जवाफ दिएका थिए ।

राजदूत सोङले केही दिनअघि नेपाल-भारत सम्बन्धकाबारे कूटनीति मर्यादा विपरित अभिव्यक्ति दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here