वीरगञ्ज, १२ भदौ ।। वीरगञ्जमा आयोजना गरिएको एक हप्ते लेखा सम्बन्धी प्रशिक्षणले विद्यार्थीको मनोबल बढाएको छ । विद्यार्थीलाई पाठ्यक्रम भित्रको सिकाइले मात्रै उनीहरूले पर्याप्त ज्ञान हासिल गर्न नसक्ने भन्दै वीरगञ्ज कलेजले आयोजना गरेको लेखा सम्बन्धी एक हप्ते व्यावहारिक सीपको तालिमले विद्यार्थीको मनोबल बढाएको हो ।

कलेजमा पढाइएका विषयले मात्रै ज्ञान विद्यार्थीले आफ्नो भविष्य निर्माण गर्न नसक्ने भएकोले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक ज्ञानको पनि आवश्यकता देखेर तालिम आयोजना गरेकोमा विद्यार्थी निकै खुसी भएका छन् ।

उनीहरूले कक्षामा पढ्ने विषयमा डेबिट, क्रेडिट, ब्यालेन्स सिट लगायत मात्रै जानिएको तर, तालिमबाट प्रतीत पत्र, आरटीजीएस, ड्राफ्ट लगायतका व्यवहारिक विषयहरूको पनि ज्ञान हासिल भएको तालिममा सहभागी विद्यार्थी अनिता कुमारीले बताइन ।

कलेजको कक्षा कोठामा पढेको भन्दा तालिमले केही फरक कुराहरू सिक्न पाएको र यसले आफूलाई रोजगारीमा जाने क्रममा कसरी अन्तरवार्तामा सहभागी हुने आफ्नो व्यक्तिगत विवरणहरू कसरी बनाउने कसरी प्रस्तुत गर्ने देखि लेखा सम्बन्धमा के के कामहरू गर्नुपर्छ भन्ने विषयमा जानकारी लिन पाएको अर्का विद्यार्थी मुस्कान मिश्रले बताइन ।

कलेजले आयोजना गरेको तालिमबाट विद्यार्थीले सीप दक्षता हासिल गर्ने र बजारमा समेत स्थापित हुनका लागि सहयोग गर्ने विश्वास रहेको कलेजका सञ्चालक समिति अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले बताए ।

कलेज पढिसकेपछि अहिले अधिकांश विद्यार्थी बैङ्कमा इन्टर्नसिप गर्न जाने गरेको र उनीहरूलाई खाता खोल्ने र डकुमेन्ट मिलाउने बाहेक अन्य केही पनि काम बैङ्कमा सिक्न नपाउने भएकोले त्यस्तो काममा भन्दा आफूलाई कलेजबाट व्यवहारिक सीपबाट दक्ष भएर रोजगारीमा जान डाक्टर चौधरीको सुझाव छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले वीरगञ्ज कलेजले आर्थिक नगरीमा नयाँ किसिमको तालिम दिएर व्यावसायिक सीप विकास गरी रोजगारी सृजना गर्नुको साथै बजारको माग अनुसारको तालिमले रोजगारदाताहरूलाई समेत जनशक्ति आपूर्तिमा सहजीकरणको भूमिका खेलेको बताए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले वीरगन्ज निजी कलेजले पहिलो पटक विद्यार्थीलाई व्यावसायिक तालिमबाट सीपले दक्ष बनाएर बजारमा बिक्ने खालको जनशक्ति तयार गर्न आधार बनाएकोमा प्रशंसा गरे । उनले अहिले बजारमा रोजगारीका लागि आउनेहरूले सामान्य विषयमा समेत ज्ञान नराखेर प्रमाणपत्रको आधारमा मात्रै रोजगारी खोज्ने प्रवृत्ति रहेको बताए ।

सैद्धान्तिक ज्ञानले मात्रै विद्यार्थीको भविष्य निर्माण गर्न नसकिने र उनीहरूमा व्यावहारिक ज्ञान र व्यावसायिक र जीवनोपयोगी सीप नभई बजारमा बिक्री हुने खालको जनशक्ति उत्पादन नहुने भएकोले कलेजबाट नै बजारमा दक्ष जनशक्ति बनाउन सकियोस् भन्ने उद्देश्यले तालिम दिने योजना कलेजले बनाएको कलेज प्रमुख विनोद गुप्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here