जनकपुरधाम, १२ भदौ ।। बरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी राजेश्वर नेपालीको निधन भएको छ । नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने नेपालीको निधन सोमबार साँझ ८ बजेर ५ मिनेटमा निधन भएको हो । लामोसमयदेखि बिरामी भएर थला परेका नेपालीको ७८ वर्षको उमेरमा जनकपुरधाम २३ लादोबेला स्थित निवासमा निधन भएको उनका छोरा राघवेन्द्र साहले जानकारी दिए । उनको पार्थिव शरीरलाई आज बिहान १० बजे जनकपुरधामको नगरपरिक्रमा गराई जनकपुरधाम भएर बग्ने दुधमती नदीमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

समाचार लेखेकै कारण २०३६, २०३९ र २०४२ सालमा उनलाई तत्कालीन ब्यवस्थाले जेल हालेको थियो । २०३६ र २०३९ सालमा क्रमशः डेढ महिना जेल बसेका उनी २०४२ सालमा भने एक वर्ष जेल बसेका थिए । पत्रकारिता, साहित्य, सस्कृति र भाषाको क्षेत्रमा विशेष योगदान पु¥याउँदै आएका नेपालीले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याए वापत प्रजातान्त्रिक सेनानीको रुपमा २०६५ मा अभिनन्दन गरिएको थियो । राजनीतिबाट प्रभावित उनलाई २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि विघटन भएको संसदका सदस्य सरोजप्रसाद कोइरालाले प्रजातन्त्र पुनः स्थापनाका लागि हतियार बन्द आन्दोलनमा सहभागी बन्न खुबै जोड गरे । तर आफू गान्धिवादी दर्शनबाट प्रभावित भएको भन्दै हतियार उठाएर होइन, कलम चलाएर आन्दोलनमा सहभागी बन्छु भनेर जवाफ दिए अनि लागे सक्रिय पत्रकारितामा !

नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउँदै आएका नेपाली आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्थे । उनले समाजको लागि परिवर्तनकारी सोच, सामाजिक रुपान्तरणको लागि कलम निरन्तर चलाउँदै आएका उनी सरल स्वभावका आदर्शमुखी थिए । उनी गान्धी विचारबाट प्रभावित भएर पोशाक पनि गान्धी कै जस्तो खादी र सुती लगाउथे ।

मैथिली साहित्यमा एमए गरेका नेपालीका २ छोरा ३ छोरी थिए तर पत्रकारितामै लागेका जेठो छोरा रविन्द्र साहको २९ वर्षकै अल्पआयुमा निधन भयो । जेठो छोरा रविन्द्रले प्रकाशन सुरु गरेको विश्व जागरण दैनिक हालसम्म पनि राजेश्वर नेपालीको संरक्षकणमा प्रकाशन भइरहेकै थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here