एजेंशी ०९ साउन ।। प्रशान्त महासागरमा बनेको शक्तिशाली आँधी फिलिपिन्सतर्फ अघि बढेको छ । मौसम पूर्वानुमान गर्ने संस्थाहरूले यो ‘सुपर टाइफून’ देशको उत्तरी भाग हुँदै यो हप्ताको अन्त्यतिर चीन पुग्ने बताएका छन् ।
‘डोकसूरी’ नाम दिइएको यस शक्तिशाली आँधीको तीव्रता २४० किलोमिटर पुग्ने बताइएको छ । फिलिपिन्सको मौसम विभागले यो आँधी अबको २४ घण्टाभित्र देशको बाबुयान टापु पुग्नेछ ।
बाबुयान टापुसहित उत्तरी लुजोनमा तीव्र आँधीसँगै भारी वर्ष हुने अपेक्षा गरिएको छ । यस्तोमा बाढी र पहिरो आउन सक्ने विभागले चेतावनी जारी गरेको छ । फिलिपिन्स पछि यो हङकङ हुँदै चीन पुग्नेछ ।
चीनको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले डोकसूरी शुक्रबार बिहान फुजियान र ग्वाङडोङको तटीय क्षेत्रमा पुग्ने जानकारी दिएको छ । मंगलबार फुजियान प्रान्तले तेस्रो तहको चेतावनी जारी गरेको छ । माछा मार्न समुद्रमा गएकाहरूलाई तत्काल तटमा फर्कन आग्रह गरेको छ । –सीएनन