काठमाडौँ ०२ असार ।। अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ ।

प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर ‘कागज’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।

रातोपुलमा रहेको आफ्नो घरमा मृत भेटिएका सारुक चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए । नायिका नम्रता श्रेष्ठ पनि ह्यासट्याग मायामा अभिनय गरिरहेकी छिन् । तर, सुटिङ आधा पनि नसकिँदै ताम्राकारले संसार छाड्ने निर्णय लिए ।

सारुकको मोबाइल परीक्षण रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । निर्माता राजीव गुरुङले प्रहरीलाई छायाङ्कन भइरहेको चलचित्र ‘ह्यासट्याग माया’ सँग सम्बन्धित कुराहरू जानकारी गराएको बताए । रातोपाटीसँग कुरा गर्दै गुरुङले भने–‘फिल्मसँग सम्बन्धित कुराहरू बताएको छु ।

निर्माता र निर्देशकलाई प्रहरी वृत्त मालिगाउँका अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन् । सारुकलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरिएको थियो वा थिएन भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । एसपी रिजाल भन्छन्–‘अनुसन्धानको कुनै पनि कसर बाँकी राखेका छैनौँ, विभिन्न विधिबाट अनुसन्धान हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here