एजेन्सी १२ भदौ ।। लगातारको वर्षापछि आएको बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति निम्त्याएपछि पाकिस्तानमा राष्ट्रिय संकट घोषणा गरिएको छ । बाढीपहिरोमा परी हालसम्म कम्तीमा ९ सय ३७ जनाको मृत्यु भइसकेको छ, जसमा ३ सय ४३ जना बालबालिका मात्रै छन् । सयौं घाइते र हराइरहेका छन् । विभिन्न राज्यमा गरी हालसम्म ३ करोडभन्दा बढी मानिसप्रत्यक्ष प्रभावित भएको भन्दै पाकिस्तानले बिहीबार राष्ट्रिय संकट घोषणा गरेको हो ।

बाढीपहिरोले ३४३ बालबालिकासहित कम्तीमा ९३७ जनाको मृत्यु, ४ लाख घर क्षतिग्रस्त, ३ करोडभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।

बाढीपहिरोले हालसम्म ४ लाख घरहरू ध्वस्त भएका छन् । संयुक्त राष्ट्र संघीय विपद् राहत एजेन्सी ओसीएचएले पनि बिहीबारसम्म १ लाख ८४ हजार परिवार घरबारविहीन भएको र उनीहरूलाई तत्काल आवासको व्यवस्था गर्नुपर्ने जनाएको छ । बाढीपहिरोबाट सबैभन्दा बढी सिन्ध राज्य प्रभावित बनेको छ ।

गत जुन १४ यता भएका बाढीपहिरोजन्य घटनामा परी सिन्धमा मात्रै ३०६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ । प्राधिकरणका अनुसार बलुचिस्तान राज्यमा २३४ जना, खैबरमा १८५ जना र पन्जावमा १६५ जनाको मृत्यु भएको छ । यसैगरी, जम्मु कश्मीरमा ३७ जनाको मृत्यु हुँदा राजधानी इस्लामाबादमा १ जनाको ज्यान गएको रिपोर्ट छ ।

पाकिस्तानी सूचनामन्त्री मरियम औरंगजेबले संकटको यो घडीमा राष्ट्रिय एकता कायम गर्दै सबैलाई उद्धार र राहतमा जुट्न आग्रह गरेकी छन् । बाढीपहिरो प्रभावित क्षेत्रमा खटिएर पीडितहरूलाई जतिसक्दो चाँडो उद्धार गर्नुपर्ने भन्दै उनले यसमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई समेत गुहारेकी छन् । प्रधानमन्त्री शेहबाज सरिफले पीडितहरूसमक्ष छिटोभन्दा छिटो राहत पुर्‍याउन एनडीएमएअन्तर्गत रहने गरी ‘वार रुम’ नै बनाएका छन् । यो इकाइले राहतका साथै उद्धारकार्यलाई समेत तीव्रता दिने बताइएको छ । सरकारले प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरी सहयोग गरिदिनसमेत आग्रह गरेको छ ।

जारी वर्षा र भीषण बाढीका कारण राहत कार्यमा कठिनाइ भएको र उद्धार कार्यलाई पनि तीव्रता दिन नसकेको स्थानीय अधिकारीहरूले जनाएका छन् । जलवायुमन्त्री शेरी रहमानले पनि ‘राक्षसी वर्षाका कारण राहत र उद्धारमा सकस झेलिरहेको’ बताएकी छन् । ‘विशेषगरी प्रभावित क्षेत्रसम्म पुग्ने हेलिकोप्टर उडानमा समस्या भइरहेको छ,’ इस्लामाबादमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले भनेकी छन् ।

बाढीपहिरोले सडक, पुल र सञ्चारसम्बन्धी पूर्वाधारमा बढी क्षति पुगेको उनको भनाइ छ । ‘घरबारविहीन भएका हजारौं परिवारलाई आवास मात्र होइन, अहिले बिहान–बेलुका खानाकै पनि समस्या हुन थालेको छ,’ उनले भनेकी छन्, ‘लगातार पानी परिरहे घरबारविहीन हुनेहरूको संख्या अझै बढ्नेछ । प्रभावितलाई आवास र खानाको तत्काल व्यवस्था गर्नुपर्ने देखिएकाले म अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आग्रह गर्छु ।

बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएका दक्षिण पाकिस्तानका सिन्ध र बलुचिस्तान राज्यले क्रमशः १० लाख र १ लाख टेन्टको माग गरेका छन् । यसका लागि मुलुककै उद्योगहरूलाई पूर्ण क्षमतामा उत्पादन गर्न भनिएको र अन्तर्राष्ट्रिय दातालाई समेत गुहारेको उनले बताइन् ।

सामान्यतः पाकिस्तानमा मनसुन वर्षमा ३/४ चरणसम्म सक्रिय रहन्छ । तर, अहिले आठौं चरणको वर्षा भएको जलवायुमन्त्री रहमानको भनाइ छ । ‘मुलुकले अभूतपूर्व मौसमी विपद् सामना गरिरहेको छ । वर्षा, बाढी र पहिरोसम्बन्धी तथ्यांक निकै डरलाग्दो छ,’ उनले भनिन्, ‘सेप्टेम्बरमा अर्को चरणको मनसुन सक्रिय हुने सम्भावनासमेत देखिएको छ ।

एनडीएमएका अनुसार अगस्टमा मुलुकभर सामान्यतः ४८ मिलिमिटर वर्षा हुने गरेकोमा अहिले १६६.८ मिलिमिटर भइसकेको छ । जुन सामान्य अवस्थाको भन्दा २४१ प्रतिशतले बढी हो । सिन्ध र बलुचिस्तानमा यो आँकडा क्रमशः ७८४ प्रतिशत र ४९६ प्रतिशतले बढी छ । अप्रत्याशित रूपमा भएको वर्षाले निम्त्याएको बाढीपहिरोले सिन्धका २३ जिल्लालाई तहसनहस गरेको छ ।

‘छोराछोरीसहित हामी केही दिनदेखि रिक्सामा रात काटिरहेका छौं,’ सिन्ध राज्यको दोस्रो ठूलो सहर हैदराबादकी एक महिलाले सामाचार एजेन्सी रोयटर्ससँग भनेकी छन्, ‘छानोले वर्षा थेग्न नसकेर घर जलमग्न छ । नाली फुट्दा आँगन ढलले भरिएको छ । घर र गल्लीहरू फोहोर पानीको पोखरीमा परिणत भएका छन् । यस्तो अवस्थामा हामी कहाँ जाऔं ?

सरकारले बाढीपहिरो प्रभावितका लागि तत्काल राहत पुर्‍याउन ७२ अर्ब ३६ करोड पाकिस्तानी रूपी आवश्यक पर्ने जनाएको छ । सरकारको प्रारम्भिक मूल्यांकन रिपोर्टअनुसार खाद्यान्न र नगद राहत दिनका लागि मात्रै ७ अर्ब ३३ करोड रूपी आवश्यक पर्नेछ । खाद्यान्नबाहेकका राहत सामग्री जुटाउन ८ अर्ब ७१ करोड र स्वास्थ्य सामग्रीमा १ अर्ब ६२ करोड रूपी आवश्यक पर्ने आकलन गरिएको छ ।

स्थानीय किसानले पालेका हजारौं गाईवस्तु बाढीले बगाएको छ । उक्त क्षति पूर्ति गर्न मात्रै ९ अर्ब २ करोड रूपीभन्दा बढी खर्च हुने अनुमान छ । मेसिन तथा उपकरण खरिदमा ४ करोड ६४ लाख खर्च हुने प्रारम्भिक मूल्यांकन गरिएको छ । ‘बाढीपहिरोले भत्काएका कम्तीमा ८२ हजार घरहरू तत्काल बनाउनुपर्नेछ । एउटा घर निर्माण गर्न कम्तीमा ५० हजारका दरले पनि ४१ करोड रुपी खर्च हुने देखिएको छ,’ प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल

बाढीपहिरोको विपत्ति सामना गर्न पाकिस्तानलाई अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक रहेको पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले बताएका छन् । बाढीपहिरोका कारण लाखौं सर्वसाधारण प्रभावित भएकाले अप्ठेरो अवस्थामा रहेका पाकिस्तानी जनतालाई सहयोग गर्न उनले अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेका छन् ।

बिहीबार बिहान राजधानी इस्लामावादमा रहेका विभिन्न मुलुकका राजदूत, दातृ निकाय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग भेट गर्दै उनले आर्थिक तथा अन्य सहयोगका लागि आग्रह गरे । त्यस क्रममा बाढीपहिरोले पुर्‍याएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे जानकारीसमेत गराइएको थियो ।

‘लगातारको वर्षाले मुलुकभर विनाश निम्त्याएको छ,’ शुक्रबार बिहान ट्वीट गर्दै उनले लेखेका छन्, ‘क्षतिको अभिलेखीकरण हुन बाँकी नै छ तर वर्षाको मापन र क्षति हेर्दा सन् २०१० को विपत्तिभन्दा भीषण देखिन्छ ।’ मौसमी वर्षापछिको बाढीपहिरो र डुबानका कारण सन् २०१० मा पनि पाकिस्तानमा व्यापक जनधनको क्षति पुगेको थियो ।

उनले राहत र उद्धारमा मुलुकको सबै स्रोतसाधन परिचालन गरेको पनि उल्लेख गरेका छन् । ‘बाढीपहिरोका कारण भएको क्षतिप्रति सहानुभूति, समवेदना र सहयोगको प्रतिबद्धताका लागि हामी अन्तर्राष्ट्रिय समुदायप्रति आभारी छौं,’ सरिफको ट्वीटमा भनिएको छ, ‘हामी एकसाथ मिलेर हालको भन्दा राम्रोसँग पुनर्निर्माण गर्नेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here