काठमाडौं १२ भदौ ।। त्रिभुवन विश्वविद्यालयमा अहिले तनावग्रस्त अवस्था सृजना भएको छ । विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरेपछि द्विपक्षीय विद्यार्थीबीच झडपको अवस्था सृजना हुँदा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सो क्रममा एक समूहले पत्रकार सम्मेलनस्थलमा ढुंगा प्रहार समेत गरेको थियो । सोही क्रममा नेविसंघका भुवन जोशी र ईश्वर भण्डारी घाइते भएको त्रिवि नेविसंघ इकाइ सचिव योगेन्द्र रावलले अन्नपूर्णलाई जानकारी दिए ।

नेपाल विद्यार्थी संघ प्रश्नपत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ भने एमाले निकट अनेरास्ववियूले तालाबन्दी खोल्ने चेतावनी दिएको छ ।

त्रिभुवन विश्वविद्यालयले लगातार विश्वविद्यालयमा आन्दोलन भएका कारण शिक्षक कर्मचारीमा त्रासको अवस्था सृजना भएको बताएको छ । त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले शिक्षक कर्मचारीमा त्रास भएको र काम गर्ने वातावरण नरहेको बताए ।

उनले भने, ‘विश्वविद्यालयका विभिन्न निकायहरूमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको गुनासो प्राप्त भइरहेको छ । विभिन्न निकायमा शिक्षक, कर्मचारी कुटिएका छन् यस्तो अवस्थामा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण छैन । शिक्षक कर्मचारीमा एक किसिमको त्रास छ । काम गर्ने वातावरण नभएपछि स्वतः विश्वविद्यालयले सम्पादन गर्नुपर्ने कार्यहरू समयमा नसकी विद्यार्थीमा नकारात्मक प्रभाव परेको छ । जसले विद्यार्थीहरू विदेशिने क्रम बढिरहेको छ ।

त्रिविको सबै निकाय समेट्नेगरी इन्टिग्रेटेड वेवसाइट बनाइएको बताए । एन्टीप्लेजारिज्म सफ्टवेयर लागू गरी थेसिसमा हुने चोरी रोकिएकालाई त्रिविले उपलब्धी मानेको छ ।

आंगिक क्याम्पसमा थप विषयहरु अध्यापन गराउने व्यवस्था गरिएको छ । विभागीय प्रमुखको नियुक्ति नियममा नै व्यवस्था गरी बरिष्टताको आधारमा नियुक्ति गर्ने गरिएको त्रिविको प्रगति विवरणमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here