एजेन्सी २९ साउन ।। बेलायतबाट स्वतन्त्र भएर पाकिस्तान र भारतमा बनेको केही महिना मात्रै भएको थियो । रक्तपातपूर्ण विभाजनबाट दुवै देश दुःखी भए पनि नेताको बोलीमा एक अर्काप्रति तिक्तता व्यक्त हुन्थेन । त्यतिबेला पाकिस्तानको राजधानी कराँची थियो ।

सोही सहरको समून्द्री तटमा गफिदै हिँड्ने क्रममा पाकिस्तानका संस्थापक र गभर्नर–जनरल मोहम्मद अली जिन्नाहले तत्कालिन अमेरिकी राजदूत पल एर्लिङसँग आफूले ‘पाकिस्तान–भारत सम्बन्ध अमेरिका र क्यानडा बीचको जस्तै होस् भन्ने चाहेको’ बताए । जिन्नाले यो कुरा भन्नको लागि मात्र नभनेर भित्री मन देखिको चाहना भएको बताएका थिए ।

जिन्नाको भनाइ यी दुई नवनिर्मित मुलुकबीच भविष्यमा सामान तथा नागरिकबीच सहज आवतजावतमा हुनुपर्नेतर्फ संकेत थियो । हुनपनि करिब ९००० किलोमिटर सिमाना जोडिएका मुलुकबीच सहज सम्बन्ध्ले दुवैलाई फाईदा हुने थियो ।

दक्षिण एसियाली विज्ञ डेनिस कुक्सले उनको पुस्तक ‘द युनाइटेड स्टेट्स एन्ड पाकिस्तान (१९४७–२०००): डिसईन्च्यान्टेड एलायन्स’मा सन् १९४८ मार्चमा अमेरिकी राजदूत आर्लिङबीच समुन्द्र किनार भएको कुराकानी उल्लेख गरेका छन् । कुक्स अमेरिकी विदेश मन्त्रालयमा २० वर्ष काम गरेका र यस क्रममा चार वर्ष पाकिस्तानमा बिताएका कुटनीतिज्ञ हुन् ।

भारत विभाजन हुनुभन्दा करिब तीन महिनाअघि मोहम्मद अली जिन्नाले समाचार एजेन्सी रोयटर्सका संवाददाता डन क्याम्बललाई अन्तर्वार्ता दिएका थिए । सन् १९४७ मे २२ मा चर्चित पाकिस्तानी पत्रिका डनमा प्रकाशित सो अन्तर्वार्ता अनुसार ‘जिन्ना पाकिस्तान र भारतबीच मैत्रीपूर्ण र भरपर्दो सम्बन्ध चाहन्थे । जिन्नाका अनुसार भारतको विभाजनको आधार स्थायी शत्रुता र तनाव नभएर आपसी तनाव अन्त्य हुनुपर्छ’ भन्ने थियो ।

विभाजनपछि जिन्नाले नयाँ दिल्लीस्थित उनको घर बेचे तर दक्षिण बम्बई (हाल मुम्बई)मा रहेको २.५ एकडको बंगाला भने बेचेनन् । इटालियन मार्बल र अखरोटको काठको प्रयोग गरिएको उक्त प्रसिद्ध घरसँग जिन्नाको गहिरो लगाव थियो ।

सन् १९४७ अगस्ट ७ मा विभाजनभन्दा एक हप्ता अघि जिन्नाले बम्बईका तत्कालीन प्रशासकीय प्रमुख बीजी खैरलाई उनको सम्पतिको हेरचाह गरिदिन आग्र गरेका थिए । त्यस समय जिन्नाले आफू चाडै पाकिस्तानबाट बिदा लिएर सो घरमा फर्कने बताएका थिए ।

’गान्धी वास्तवमा पाकिस्तानका बापू थिए’

अर्कोतर्फ भारतका संस्थापक मोहनदास करमचन्द(गान्धी)ले भारत र पाकिस्तानबीच शान्ति र सद्भावका लागि पाकिस्तान जाने योजना बनाएका थिए । महात्मा गान्धीका नाति र ‘द गुड बोटम्यानः ए पोट्रेट अफ गान्धी एन्ड अंडरस्ट्यान्डिङ द मुस्लिम माइन्ड’का लेखक राजमोहन गान्धीले यसबारे भने ,‘गान्धी स्वतन्त्रताको समयदेखि नै पाकिस्तान भ्रमण गर्न चाहन्थे । सेप्टेम्बर २३ मा गान्धीले खुला रुपमा आफू लाहोर र रावलपिण्डी जान चाहेको बताएका थिए ।

उनले जिन्नालाई आफ्नो इच्छाबारे लेखेका पनि थिए । सन् १९४८ जनवरी २७ मा गान्धीको पाकिस्तान भ्रमण निश्चित गरियो । गान्धी फेब्रुअरी ८ वा ९ मा पाकिस्तान जाने तय भयो । तर बीचमै अर्थात जनवरी ३० मा गान्धीको हत्या भयो ।

गान्धीको हत्याबारे टिप्पणी गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री लियाकत अली खानले ‘यस महत्वपूर्ण समयमा गान्धी भारतीय राजनीतिबाट विदा हुनु अपूरणीय क्षति भएको’ भनेका थिए । आउटलुक पत्रिकामा एक लेख्दै राजमोहन गान्धीले लेखेका छन् ,’ यदि गान्धी ’४० को दशकको उत्तरार्द्ध र ’५० को दशकको सुरुमा जिउँदो भएको भए भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार्न सक्थे ।

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीका नजिकका सहयोगी सुधीन्द्र कुलकर्णी ‘म्युजिक अफ द स्पिनिङ ह्वील’का लेखक हुन् । उनका अनुसार गान्धीमा इस्लामप्रति सकारात्मक धारणा थियो । उनी अक्सर भन्थे –पश्चिमी विश्वमा डरलाग्दो अन्धकार हुदाँ पूर्वमा इस्लामको चम्किलो ताराले समस्याग्रस्त संसारमा प्रकाश, शान्ति र राहत दिएको थियो । इस्लाम झगडा फैलाउने धर्म होइन ।

‘म यस निष्कर्षमा पुगेको छु कि इस्लामको द्रुत प्रसार तरवारको बलमा भएको होइन । यसको विपरित यसको सरलता, तर्कपूर्ण सन्देश, यसका पैगम्बरको उच्च नैतिकताको कारण धेरै मानिसहरूले खुशीसाथ इस्लाम स्वीकारेका थिए ,’ राजमोहन गान्धीले लेखेका छन् ।

कुलकर्णीका अनुसार स्वतन्त्रताअघि गान्धी र जिन्नाबीच भएका श्रृंखलाबद्ध वार्तापछि गान्धी भारतको उत्तर–पश्चिम र पूर्वी भागका मुस्लिम बहुल क्षेत्रहरूमा आत्म निर्णयमा आधारित स्वतन्त्र राज्यको सिद्धान्तलाई समर्थन गर्ने निष्कर्षमा पुगेका थिए ।

गान्धीले यसबारेमा जिन्नासँग भनेका थिए ,‘यदि तपाई चाहानुहुन्छ भने यसलाई पाकिस्तान भन्नुहोस् ।’ यहाँसम्म की गान्धीले लाहोर प्रस्तावलाई समेत स्वीकारेका थिए । कुलकर्णीका अनुसार गान्धीको हत्या हुनुभन्दा केही दिनअघि उनले आफ्नो प्रार्थनासभामा ‘भारत र पाकिस्तान दुवै मेरा देश हुन्’ भन्ने घोषणा गर्ने साहस गरेका थिए ।

‘म पाकिस्तान जाने बेलामा राहदानी बोक्ने छैन…भौगोलिक र राजनीतिक रूपमा भारत दुई भागमा विभाजित भए पनि हृदयदेखि हामी मित्रवत र दाजुभाइ हुनेछौं । एकअर्कालाई सहयोग र सम्मान गर्नेछौं । हाम्रो सम्बन्ध यस्तो हुनेकी बाहिरी दुनियाँलाई हामी एकजस्तो लाग्नेछ,’ महात्मा गान्धीले उनको नियमत प्रार्थनासभामध्ये एकमा भनेका थिए ।

भारत सरकारले पाकिस्तानलाई दिनुपर्ने ५५ करोड रुपये र सैन्य उपकरण दिन अस्वीकार गरेपछि गान्धीले पाकिस्तानको पक्षमा भोक हडताल गरे । यसै कारणले भारत सरकारले जनवरी १६ मा पाकिस्तानलाई ५५ करोड दिने घोषणा गर्न बाध्य भयो । यही ‘अपराध’ को लागि जनवरी ३०, १९४८ मा एक नाथुराम गोडसेले गान्धीको हत्या गरिदिए ।

अदालतलाई दिएको बयानमा गोडसेले गान्धीविरुद्ध विष वमन गर्दै भनेका थिए ,‘जसलाई भारतमा बापू भनिन्छ… उनी वास्तवमा पाकिस्तानका बापू हुन् । उनको भित्री आवाज, उनको आध्यात्मिक शक्ति, उनको दर्शन, सबै कुरा जिन्नाको अगाडि मर्यो ।

पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाले गान्धीको हत्याबारे बोल्ने क्रममा ‘यी महामानवको निधनले सिर्जना भएको शून्यता पुर्न निकै कठिन हुने’ बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here