जनकपुरमा ०१ असार ।। उच्च अदालत जनकपुरले एसीड पीडित आरती साहको पेशी तोकेको छ । मंगलबार अदालतले असार ८ गतेदेखि सुनवाई हुने गरी पेशी तोकेको छ । अदालतले पेशी तोक्न ढिलाई गरेको समाचार प्रकाशन गरिएको थियो । सो समाचारमाथि अदालतको ध्यानाकर्षण भई पेशी तोकिएको छ । एसीड प्रहार गरी अंगभंग बनाएको मुद्दामा पीडित आरतीका भाई सञ्जय कुमार साहले जिल्ला अदालतको फैसलामा चित्त नबुझेको भन्दै उच्च अदालत जनकपुरमा ०७८ माघ १० गते मुद्दा दर्ता गराएका थिए ।

मुद्दा दर्ता गराएको चार महिना बित्न लाग्दासमेत पेशी तोकिएको थिएन् । यी मुद्दामा दुबै पक्षबाट अदालतमा मुद्दा दर्ता भएको छ । अव यस मुद्दामा प्रत्याशी झिकाई पेशीको अन्य प्रकृया अगाडि बढ्ने छन् । वादी प्रतीवादीलाई म्याद बारे पत्र पठाइने छन् । म्याद बारे पत्र प्राप्त गरेपछि दुबै पक्ष अदालतमा हाजिर भएपछि बहस शुरु हुने भएको छ । त्यसपछि सुनवाई प्रकृया अगाडि बढ्ने जनाइएको छ । आरतीका श्रीमान् सञ्जिवकुमार साहले आफ्नै श्रीमती र छोरी रियामाथि ०७७ कार्तिक २७ मा एसीड छ्यापेका थिए । जिल्ला अदालतले भदौ १० गते मुद्दाको फैसला सुनाउँदै मुख्य प्रतिवादी सञ्जिवलाई दश वर्ष कैद र ६ लाख ५० हजार जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो ।

एसीड व्यवसायी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो । यही फैसलाविरुद्द अहिले दुबै पक्षबाट उच्च अदालतमा मुद्दा दर्ता भएको छ । आरती र सरकारी वकिल कार्यालयलेव्यवसायी नागेन्द्र साहलाई पनि कारवाही गर्नुपर्ने माग गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसीड प्रहार गर्ने सञ्जिव र एसीड बेच्ने नागेन्द्र साहलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दावी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो । अहिले पनि सरकारी वकिल कार्यालयले सोही अनुसार दावी गर्ने बताइएको छ ।

यस्तै, कुमारी आमा निहारिका सिंह राजपुतको मुद्दाको पेशी असार २ गते तोकिएको छ । उच्च अदालत जनकपुरमा जर्वरजस्ती करणी मुद्दामा यसको सुनावाई हुन लागेको हो । जिल्ला अदालत धनुषाले यी मुद्दामा ०७८ माघ १४ गते फैसला सुनाउँदै आरोपीत धनुषा महेन्द्रनगरका शिवराज श्रेष्ठलाई सफाई दिएको थियो । सो फैसलाविरुद्ध सरकारी वकील कार्यालय र निहारिका उच्च अदालतमा पुगेकी छिन् । निहारिकाले ललाई फकाई बलात्कार गरेपछि गर्भ बसेको जिकिर गर्दै आएकी छन् ।

निहारिका गर्भवती भएपछि फरार रहेका शिवराज गत भदौ १८ गते कानून व्यवसायीमार्फत दुई वर्षपछि अदालतमा हाजिर भएका थिए । ती किशोरी ०७६ मंसिरमा गर्भवती भएकी थिइन् । त्यसको दुई महिनापछि पुसमा जिल्ला प्रहरी कार्यालय धनुषामा जबर्जस्ती करणी मुद्दा दर्ता गराइएको थियो । न्याय नपाएको भन्दै अहिले उनी काठमाण्डुमा धर्नामा बसेकी छन् । ०७७ भदौ ५ गते परोपकारी संस्थाको रेखदेखमा किशोरीले छोरालाई जन्म दिएकी थिइन् । अहिले उनको छोरा २१ महिनाको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here