बर्दिया २४ जेठ ।। बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार २४ वर्षीया नविना थारुको मृत्यु भयो । उनको शव गुलरिया अस्पतालमा राखिएको छ । बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्रहरी दमनबारे स्थानिय प्रशासनसँग सर्वपक्षीय रुपमा ५ बुँदे सहमती भएको छ । तर, सो सहमती मृतकका परिवारले अस्विकार गरेका छन् । घटना बारे बुझन घटनास्थलमा लुम्बिनी प्रदेशका डीआईजी पुगेका छन् ।

पीडित परिवारलाई तत्काल राहन दिने, घटनाबारे न्यायीक छानविन समिती बनाउने र गोली चलाउनेलाई कारवाही गर्ने सहमती भएको छ । सर्वपक्षीय छलफलबाट मृतकको सालिक बनाउनुपर्ने माग भएपछि मधुवन नगरपालिकाले सालिक बनाउने सहमती गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले रातोपाटीलाई बताए ।

सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मितालाई बाघले आक्रमण गरेपछि स्थानीयले बाघ आतंक रोक्न गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

झडपमा परेर ९ जना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएका छन् । घाइतेलाई सरकारले उपचार गर्ने सर्वपक्षीय सहमती भएको छ । आक्रमणकारी बाघलाई राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने पनि सहमती भएको छ । स्थानिय राजनीतिक दलहरु र जिल्ला प्रशासन कार्यालयको बिचमा भएको सहमती पीडित पक्षले अस्विकार गरेका छन् ।

पीडितलाई सहमती गर्ने प्रयास भइरहेको प्रजिअ बास्तोलाले बताए । प्रहरीको गोली लागेर नविनाको मृत्यु भएपछि लुम्बिनी प्रदेशका डीआईजी नल प्रसाद उपाध्याय घटनास्थलमा पुगेका छन् ।

मृतकको टाउकोमा चोट लागेको छ । उनको पोष्टमार्टम हुन बाँकी छ । पीडित परिवार सहमत भएपछि पोष्टमार्टम गरिने लुम्बिनी प्रदेशका डीआईजी नल प्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here