रौतहट ०८ जेठ ।। रौतहट जिल्लाको परोहा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शेख वकिलले नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु लाई सपत ग्रहण गराएका छन । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको परोहा नगरपालिकाका जनप्रतिनिधिहरुलाई आइतवार पद तथा गोपनियताको सपथग्रहण गराइएको छ ।

परोहा नगरपालिकाको मेयरमा दोश्रो पटक निर्वाचित भएका शेख वकिलले नगरपालिकाका उपमेयर सुगन्धि गिरीसहित ९ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथ गराएका हुन । यसअघि नगर प्रमुख वकिलले जिल्लाका प्रमुख निर्वाचन अधिकृतबाट सपथ लिएका थिए । उनले नगरपालिका पुगेर कार्यभार सम्हालिसकेका छन ।

परोहा नगरपालिका वडा नं ४ स्थित श्री ब्रहम ज्योति माध्यमिक विधालय लौकाहाको प्राङ्गणमा आइतवार आयोजित सपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित वकिलले उपमेयर गिरी सहित सबै वडाका जनप्रतिनिधिहरुलाई सामुहिक रुपमा पद तथा गोपनियताको सपथग्रहण गराएका हुन ।
उनले कांग्रेसबाटै उपमेयरमा निर्वाचित गिरी सहित कांग्रेसबाट वडा नं १ को वडा अध्यक्षमा निर्वाचित शेख महमुद, २ को वडा अध्यक्षमा निर्वाचित शेख शेराजुद्दिन, ३ को वडा अध्यक्षमा निर्वाचित महेशी सिंह, ४ को वडा अध्यक्षमा निर्वाचित जवाहर प्रसाद, ५ को वडा अध्यक्षमा निर्वाचित सजिम अन्सारी, ६ को वडा अध्यक्षमा निर्वाचित रामविलास पटेल, ७ को वडा अध्यक्षमा निर्वाचित नागेन्द्र प्रसाद पटेल ८ को वडा अध्यक्षमा निर्वाचित खेदु मुखिया बिन र ९ को वडा अध्यक्षमा निर्वाचित कफिल अन्जुमलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।

सपथग्रहण गरेसँगै आइतवार नै जनप्रतिनिधिहरु आ आफना कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन ।
नवनिर्वाचित पालिका उपप्रमुख सहितका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउँदै नगर प्रमुख शेख वकिलले जनताको भावना र चाहनालाई बुझेर जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिहरुलाई आग्रह गरेका थिए ।उनले जनताले विकास निर्माण लगाएत कार्यको अनुभूति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह गरे ।

पदभार ग्रहण पछि नवनिर्वाचित जनप्रतिनिधिले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र पालिकाका जनताको एजेण्डा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण पश्चात् बोल्दै स्थानिय तहमा कुनै सत्ता पक्ष र प्रतिपक्ष नहुने र दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने बताएका छन् ।

नवनियुक्त जनप्रतिनिधिलाई सबैको साझा भएर काम गर्न जनताले सुझाव तथा सफल कार्यकालको शुभकामना दिएका छन् । जनताले जनप्रतिनिधी कुनै एक पार्टीबाट विजयी भएपनि उसले आफ्नो कार्य सम्पादन गर्दा सबैलाई साझा रुपले हेर्नुपर्ने भन्दै, स्थानीय तहमा पनि साझा बन्नुपर्ने सुझाव दिएका छन् । समग्र नगरको विकासमा आफुले पनि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने मेयर वकिलले प्रतिवद्धता जनाए ।
जनताको चाहना र इच्छा आकांक्षा अनुसारको काम गरेकै कारण जनताले आफुलाई पुःन दोश्रो कार्यकालको लागि परोहाको मेयर चुनेको उदाहरण दिदै नगर प्रमुख वकिलले जनभावना अनुसारको काम गर्न सके मात्र जनताले अर्को कार्यकालको लागि पनि साथ दिने बताए ।

जनताको मतको कदर नगर्ने अधिकांश पालिकाका यसअघिका मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई जनताले तह लगाइदिएको बताउँदै उनले निर्वाचित भएपछि जनताको मालिक नभई सेवक बनेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।
जिल्लाको अधिकांश पालिकामा यसवर्ष नयाँ उम्मेदवार मेयर, उपमेयर र वडा अध्यक्षहरुमा निर्वाचित भइरहेको अवस्थामा परोहा नगरपालिकाको मेयरमा दोश्रो पटक शेख वकिलले नै विजयी हासिल गरी नयाँ रेकर्ड कायम गर्न सफल भएका छन् ।

यसअघि मेयरमा निर्वाचित हुँदा वकिलले नगरमा विकासको सवालमा थुप्रै कामहरु गरी नगरवासीको मन जित्न सफल भएकाले जनता फेरी नगर प्रमुखको रुपमा उनलाई नै चुनेर ल्याएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here